काठमाडौँ — कोरोना भाइरसको उद्गमस्थल चीनको हुवेई प्रान्तको वुहान र आसपासका क्षेत्रबाट नेपालीहरु लिनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार राति चीनमा अवतरण गरेको छ ।
नेपाली समय ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो । विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको चीनमा अध्ययनरत एक नेपालीले इकान्तिपुरलाई बताए ।
यतिबेला विमानमा लगेज राख्ने काम भइरहेको छ । त्यहाँको विमानस्थलमा कर्मचारीहरु कम भएका कारणले नेपालीहरुको तापक्रम मापन र बोर्डिङ पास हुन केही ढिलाइ भएको छ ।
उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए । वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर निगमको वाइडबडी विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेकाे छ।
काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रू’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।
