कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वुहान पुग्यो विमान, केही बेरमै स्वदेश फर्कंदै (तस्बिरहरुसहित)

स्वरूप आचार्य

काठमाडौँ — कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुवेई प्रान्तको वुहान र आसपासका क्षेत्रबाट नेपालीहरु लिनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार राति चीनमा अवतरण गरेको छ । 

वुहान पुग्यो विमान, केही बेरमै स्वदेश फर्कंदै (तस्बिरहरुसहित)

नेपाली समय ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो । विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको चीनमा अध्ययनरत एक नेपालीले इकान्तिपुरलाई बताए ।


यतिबेला विमानमा लगेज राख्‍ने काम भइरहेको छ । त्यहाँको विमानस्थलमा कर्मचारीहरु कम भएका कारणले नेपालीहरुको तापक्रम मापन र बोर्डिङ पास हुन केही ढिलाइ भएको छ ।


उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए । वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर निगमको वाइडबडी विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेकाे छ।


काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रू’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?