स्वदेश फर्कन वुहानमा जम्मा हुँदै नेपाली [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । शनिबार बिहान हुबेईका विभिन्‍न सहरमा रहेका नेपालीहरुलाई वुहान ल्याउने क्रम जारी रहेको छ । वुहान र आसपासका सहरमा गरी १८२ जना नेपाली रहेका छन् । 

ZenTravel

चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उड्दैछ। शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान राति ९ बजे(चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

Meroghar


वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ। आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ।


काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ। विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संक्रमणबाट बच्‍न आयुर्वेद

अतुल मिश्र

काठमाडौँ — दुई महिनायता विश्वभर निमोनिया गराउन सक्ने कोभिड–२०१९’ अर्थात् नोवल कोरोना भाइरसको आतंक छ । नयाँ हुन् वा पुराना, समय–समयमा अत्यधिक मात्रामा संक्रमण फैलिएर विश्वभर स्वास्थ्य संकटको स्थिति उत्पन्न हुन्छ । 

शरीरलाई यस्ता संक्रमण वा रोगबाट स्वस्थ राख्न आन्तरिक रोग प्रतिरोधक क्षमता (इम्युनिटी) लाई बढाउनुपर्नेमा विशेषज्ञ औंल्याउँछन् । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुँदा थुप्रै रोगबाट जोगिनुका साथै स्वस्थ जीवन बिताउन सजिलो हुने उनीहरूको भनाइ छ ।

प्रतिरक्षा प्रणाली बलियो भए रोग वा संक्रमणबाट बच्ने र स्वस्थ जीवन बिताउन सकिने आयुर्वेदमा उल्लेख छ । आन्तरिक प्रतिरक्षा प्रणाली बलियो बनाएर अन्य व्यक्तिको सहयोगबिनै सय वर्षसम्म स्वस्थकर जीवन बाँच्ने अभ्यासबारे आयुर्वेदमा जानकारी दिइएको भन्दै स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, ‘आयुर्वेदअन्तर्गतको व्याधि क्षमत्व (रोगआदिविरुद्घको शारीरिक क्षमता) को माध्यमले विभिन्न रोग संक्रमणलाई पछार्दै स्वस्थकर जीवनयापन गर्न सकिन्छ ।’

आयुर्वेदले अंग्रेजीको ‘इम्युनिटी’ शब्दलाई ‘बल’ का रूपमा परिभाषित गरेको छ । आयुर्वेदले ‘बल’ लाई जीवनसमेत भनेको छ र सोही बललाई ‘ओज’ अर्थात् ‘इम्युनिटी’ भनिन्छ ।

आयुर्वेद अनुसार ‘ओज’ मै जीवन निर्भर रहेको औंल्याउँदै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस, कीर्तिपुरका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद भन्छन्, ‘सहज, कालज र इकतीकृत गरी बललाई तीन प्रकारमा बाँडिएको छ ।’

वंशानुगत रूपमै प्राप्त हुने इम्युनिटीलाई सहज बल र समयअनुसार शरीरमा आफैं विकसित हुनेलाई कालज बल भनिन्छ । खानपान, व्यायाम, जीवनशैली, औषधि आदिका माध्यमबाट योजनापूर्वक हासिल गरिएका इम्युनिटीलाई इकतीकृत बल भनिन्छ ।

शरीर स्वस्थ वा अस्वस्थ इम्युनिीटकै कारण हुने भएकाले बाल्यकालदेखि वृद्घावस्थासम्म इम्युनिटीलाई कायम राख्न विभिन्न प्रयास गर्नुपर्छ । ‘इम्युन सिस्टम’ अर्थात् शरीरको प्रतिरक्षा प्रणाली कुनै अंग वा इकाई नभएर शरीर रक्षाका लागि मिलेर काम गर्ने कोषिका, तन्तु र अंगका सञ्जाल हुन् । यसले रोग उत्पन्न गर्ने पैथोजेन्स र ट्युमर कोष आदिलाई पहिचान गरेर आफनो सञ्जालको सहयोगीसँग मिलेर त्यसलाई नष्ट गर्छ र शरीरलाई स्वस्थ राख्छ ।

‘यो सञ्जालले हाम्रो शरीरभित्र घूसपैठ गर्ने विषाणु, परजीविलगायतकाको पहिचान गरेर नष्ट गर्ने प्रयास गर्छ भने शरीरको स्वस्थ कोषिका र तन्तुसमेत चिन्छ,’ डा. शिवमंगलप्रसाद भन्छन् ।

शरीरमा वंशानुगत रूपमा आएको विकार र इम्युनिटीको कमीलाई परिवर्तन गर्न नसकिने भए पनि यसलाई आयुर्वेदिक जीवनशैलीले केही हदसम्म सुधार गर्न सकिने उनी औंल्याउँछन् । उनका अनुसार बाल्यकालमै इम्युनिटी बढाउन प्राचीनकालदेखि नै स्वर्ण प्राशनलगायतका विभिन्न प्रकारका आयुर्वेदिक खोपसमेत उपलब्ध छ ।

अझै पनि असार पूर्णिमाका बेला ललितपुरका केही क्षेत्रमा ‘प्लास बीउ’ को चूर्णलाई चाकुमा मिलाएर बालबालिकालाई दिइने चलन रहेको जानकारी दिँदै उनी भन्छन्, ‘हाम्रो संस्कृतिमै रहेको यो परम्परा कृमिनाशक हो यसले जुकालगायतका परजीवि नाश गर्छ ।’

नेपाललगायतका भारतीय उपमहाद्वीपमा जीवनको विज्ञान आयुर्वेदलाई ऋषिमुनिले संस्कृति, चलन, चाडवाडको अंग नै बनाएर शरीरलाई स्वस्थ राख्ने हतियारको रूपमा विकसित गरेको समेत कैयौं विशेषज्ञ औल्याउँछन् ।

‘भान्साकोठामा उपयोग गरिने जिरा, धनिया, टिम्मुर, अदुवा, लसुन, बेसारलगायतका विभिन्न मसला, फलफूल सागसब्जीका सन्तुलित र समुचित उपयोगले हामीलाई विभिन्न रोगविरुद्घको शक्ति प्राप्त हुन्छ,’ डा.उपाध्याय भन्छन् । उनका अनुसार सांस्कृतिक रूपमै खानपानमा बेसारको निरन्तर उपयोगले भारतीय उपमहाद्वीपमा पश्चिमाको दाँजोमा धेरै कम मात्रामा पेटको क्यान्सर हुने गरेको छ ।

हाल बेसारमा क्यान्सरविरोधी कर्क्युमिनलगायतका विभिन्न शारीरिक अवस्थामा उपयोग गरिने स्वास्थ्यप्रद रसायनहरू रहेको पत्ता लागेको उनले जानकारी दिएका छन् । आयुर्वेदले स्वस्थ रहनका लागि दिनहुँ ६ वटा रस मिलाएर खाना खानुपर्ने आवश्यकतामा जोड दिएको छ । मधुर, अम्ल, लवण, कटु, तिक्त र कषाय रसले शरीरलाई चाहिने माइक्रोन्युट्रिएन्टसलगायतका सबै थोक परिपूर्ति गर्छ ।
डा.उपाध्याय भन्छन्, ‘मौसमअनुसारका फलफूल, सागपात र तरकारी सेवन गर्ने र आयुर्वेदिक जीवनशैली र ऋतुचर्या अपनाउने हो भने विभिन्न संक्रमण, रोगव्याधिबाट स्वस्थ रहन सकिन्छ ।’

स्वस्थकर जीवनशैली, खानपान र योग व्यायामको समुचित उपयोगले रोग संक्रमणबाट जोगिँदै स्वस्थ भएर बाँच्ने प्रक्रियामा सघाउ पुग्ने आयुर्वेदमा उल्लेख छ ।

शरीरको हरेक कोषलाई कार्य सञ्चालन गर्न अक्सिजन अत्यावश्यक छ । कोषको कार्य सञ्चालनमा कमी आउनु भनेको शरीरको अवस्थामा गिरावट आउनु हो ।

यसैले फोक्सोले राम्ररी काम गर्न विभिन्न व्यायामलगायतका प्राणायाम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै डा.उपाध्याय भन्छन्, ‘यसले फोक्सोको क्षमता बढाएर अधिकतम अक्सिजनलाई कोषसम्म पुर्‍याउँछ ।’

मानव शरीरका कोषले अधिकतम अक्सिजन प्राप्त गर्नु भनेकै तिनका कार्यक्षमता बढाउनु हो । श्वासप्रश्वास प्रणाली र फोक्सो आदि स्वस्थकर भए एक्कासि ज्यान लिने खालका धेरै रोग र संक्रमणबाट बँच्न सकिन्छ ।

हाल विश्वव्यापी रूपमै ६५ वर्षमाथिका व्यक्तिको मृत्युको प्रमुख कारण श्वासप्रश्वासको संक्रमण, इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) र विशेषगरी निमोनिया भएका विशेषज्ञ औंल्याउँछन् ।

जैविक घडीलाई अपनाऔं
आयुर्वेदका चिकित्सकका अनुसार हाल मानिसलाई विभिन्न रोगव्याधि लाग्नुमा शरीरका जैविक घडीविरुद्घका व्यवहार पनि एक कारण हो ।

सुत्ने र उठ्ने समय निर्धारण गर्ने जैविक घडी (बायोलजिकल क्लक) मा समस्या भए विभिन्न रोग र संक्रमणका साथै अनिद्राले मानिस ग्रस्त हुने चिकित्सक बताउँछन् ।

आयुर्वेदअनुसार भागदौडपूर्ण जीवनमा हाल मानिसभित्रका जैविक घडीको समय परिवर्तित भइसकेको छ । हामी सुत्ने समयमा उठ्ने र उठ्ने समयमा सुत्ने गरेका छौं ।

दिनको प्रारम्भ सूर्य उदाउनुभन्दा अघि र राति १० बजेतिरै सुतिन्छ भने मात्रै शरीरभित्रका घडीले सही काम गर्छ । ‘सूर्योदयभन्दा पनि एक प्रहर (३ घण्टा) पहिले उठ्ने र सूर्यास्तको प्रथम प्रहरभित्र खानुपर्छ,’ डा. शिवमंगल प्रसादका भन्छन् । सूर्य ऊर्जा भएकाले यसको उदय हुनासाथ दैनिक काममा लाग्नुपर्ने र सूर्यास्तको ३ घण्टाभित्र खाएर सुत्नुपर्ने आयुर्वेदको मान्यता रहेको उनको भनाइ छ ।

पृथ्वीको परिक्रमा गर्ने गति, समयअनुसार नै मनुष्य, जीवजन्तु, रुखबिरुवा आदि सबैले जैविक रूपमा आफूलाई त्यसअनुकूल बनाएका हुन् । स्वस्थकर अवस्थाअन्तर्गत थकित भएपछि सम्पूर्ण प्राणीजगतको रिफ्रेसमेन्टको अवस्था प्राकृतिक निद्रा हो । सदैव सुतेको भान हुने निद्रा वैकारिक निद्रा हो ।

प्राकृतिक जीवनशैली भएकाको निद्रा प्राकृतिक रूपमै स्वाभाविक तवरले आउँछ । आयुर्वेदले हजारौं वर्षदेखि अपनाएको जैविक घडीको बाटो हाल आधुनिक विज्ञानले समेत प्रमाणित गरिसकेको छ ।

शरीरको जैविक घडी (बायोलजिकल क्लक) को कार्य प्रणाली बताएर गत वर्ष वैज्ञानिकत्रय जेफ्रे सी हल, माइकल रोसवास र माइकल यङले चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

आफ्ना अनुसन्धानमा ती वैज्ञानिकले जैविक घडीको सिधा तालमेल पृथ्वीको परिक्रमासँग हुने बताएका थिए । यसैले शरीरभित्र भएको जैविक घडीलाई दिन र रातिको पूर्ण अनुभूति हुने भएकाले हामीलाई राति निद्रा लाग्छ र बिहान एउटा समयमा निद्रा आफैं टुट्छ ।

अध्ययनअनुसार जैविक घडीको प्रत्यक्ष तालमेल पृथ्वीको गतिसँग हुन्छ । यो लयबद्घ हुन्छ । राति ९ बजे मेलाटोनिनको श्रावले गर्दा निद्रा आउन थाल्छ । राति दुई बजे गहिरो निद्राको समय हुन्छ भने बिहान साढे ४ बजे शरीरको तापक्रम सबैभन्दा कम हुन्छ । यस्तै बिहान रक्तचापमा वृद्घि हुन थाल्छ, यही निद्रा खुल्ने समय हुन्छ ।

वैज्ञानिकत्रयको खोजले पृथ्वीको परिवर्तनसँग सामन्जस्य कायम गर्न मानिस, रुखबिरुवा, जनावर आदिले कसरी जैविक लयअनुकूल बनाउँछन् भन्ने देखाएको छ । पृथ्वीको परिक्रमाअनुसार आफूलाई ढाल्न आन्तरिक जैविक घडीअनुसार मानिस सुत्ने गर्छ ।

अध्ययनमा योसमेत पाइएको छ कि हाम्रो जीवनशैली र बाहिरी पर्यावरणका कारणले जैविक घडीको दीर्घकालीन प्रबन्धन हुन नसक्दा रोगको खतरासमेत बढ्छ ।

इम्युनिटी बढाउने जडिबुटी
परम्परागत रूपमा नेपालीले हजारौं वर्षदेखि आफूलाई स्वस्थ राख्न दिनहुँ उपयोग गर्ने जडिबुटी, मसला, खाद्यपदार्थ आदिको समुचित प्रयोगले इम्युनिटी बढाउन सघाउ पुग्ने विज्ञहरू बताउँछन् ।

गुर्जो अर्थात् चिनीको लहरोसमेत भनिने ‘गिलोय/गुडुची’ रोग प्रतिरोधक क्षमता बढाउन अत्यन्त राम्रो मानिन्छन् । यसले एन्टिअक्सिडेन्टको काम गर्ने भएकोले चियाजस्तै पकाएर खानु उपयोगी हुने औंल्याउँदै डा.उपाध्याय भन्छन्, ‘हर्रो र अमला अत्यन्त फाइदाजनक छ, दिनहुँ एउटा हर्रो खायो भने १० वर्ष आयु बढ्ने भनिन्छ, वास्तवमा यसले हाम्रो कोषको आयु बढाउँछ ।’

गुर्जोको लहरोका स–साना टुक्रालाई राति पानीमा राखेर बिहान नियमित रूपमा पिउँदासमेत रोग प्रतिरोधक क्षमता बढ्ने, भोक लाग्ने र स्वस्थ रहन फाइदाकारी अभ्यास हुने डा. शिवमंगल प्रसाद बताउँछन् ।

त्यस्तै अश्वगन्धाको जराको पाउडर, सतावरीको पाउडर, तुलसीको पात, अमला आदिको नियमित उपयोगले शरीरलाई स्वस्थ राख्दै विभिन्न संक्रमणबाट जोगाउँछ । अझ तुलसीको पात र बेसार वा गुर्जा र बेसारलाई चियाजस्तै पकाएर दिनहुँ सेवन गर्नाले ब्याक्टेरिया र भाइरसविरुद्घको शक्ति प्राप्त हुने डा. उपाध्याय औंल्याउँछन् । पहाडतिर पाइने चुत्रो, दारु हरिद्राको बोक्राको पाउडरले समेत इम्युनिटी बढाउने गर्छ । अझ टिम्मुर, मरिच, तेजपात, आदिमा समेत इम्युनिटी पावर बढाउने शक्ति रहेको हुन्छ ।

श्वासप्रश्वाससम्बन्धी समस्यामा गाउँघरमा उपयोग गरिने असुरोमा एन्टिभाइरल गुण रहेको औंल्याउँदै डा.उपाध्याय भन्छन्, ‘हजारौं वर्षदेखि दिनहुँ हामीले प्रयोग गर्ने जडिबुटी र मसलाले शरीरमा कुनै बिगार नगर्ने प्रमाणित भइसकेका छन् ।’ यस्ता जडिबुटी र मसलामा एन्टिभाइरल, एन्टिब्याक्टेरियल, एन्टिफंगललगायतका थुप्रै गुण रहेका छन् । चिकित्सकसँग सल्लाह लिएर यस्ता जडिबुटीको प्रयोग गर्नु झन् उपयोगी हुन्छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×