कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपसभामुख शिवमायाको राजीनामा तयारी, कसरी हुनेछ सभामुख र उपसभामुखको निर्वाचन ?

जयसिंह महरा

काठमाडौँ — नेकपाले सिन्धुपाल्चोक-१ बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने भएपछि उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् ।

उपसभामुख शिवमायाको राजीनामा तयारी, कसरी हुनेछ सभामुख र उपसभामुखको निर्वाचन ?

नेकपाको सचिवालय बैठकले आइतबार स्थायी समिति सदस्यसमेत रहेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुख दाबी गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको बैठक अगावै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ । यसअघि नै सभामुख उम्मेदवार तय भएपछि आफूले राजीनामा गर्ने बताउँदै आएकी उनले नेकपाले सापकोटाका बारेमा गरेको निर्णयपछि प्रतिक्रिया लिन खोज्दा उपलब्ध भने भइनन् ।

यसअघि नै तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपा सचिवालयले निर्देशन दिएको थियो । तर, उनले नेकपा सचिवालयले आफूलाई निर्देशन दिन नसक्ने जिकिर गर्दै आएकी थिइन् । आफूलाई नै सभामुख बनाउन उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह गर्दै आएकी थिइन् ।

अध्यक्षद्वयले आइतबार बिहान सभामुखमा पूर्वमाओवादीका तर्फबाट सापकोटालाई पठाउने निर्णय गरेपछि उपसभामुख तुम्बाहाङ्फे ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनले त्यहाँ प्रधानमन्त्री ओलीलाई आफूलाई किन उम्मेदवार बनाइएन भन्ने प्रश्न गरेकी थिइन् ।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ । संसद बैठकको अध्यक्षता गर्ने व्यक्तिले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचनको सूचना प्रकाशित गर्न निर्देशन दिनेछन् ।

महन्थ ठाकुर हुनेछन् प्रतिनिधिसभा अध्यक्ष

उपसभामुखले राजीनामा दिएपछि प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सांसद महन्थ ठाकुरले गर्नेछन् । उनले सभामुख निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्मका लागि प्रतिनिधिसभाको अध्यक्षता गर्नेछन् ।

संसद सचिवालयमा रहेको नागरिकताअनुसार राजपाका सांसद महिन्द्र राय यादव ज्येष्ठ सदस्य भए पनि उनी ठाकुरभन्दा कान्छा हुन् । त्यसैले यादव प्रतिनिधिसभामा अनुपस्थित हुनेछन् भने ठाकुरले अध्यक्षता गर्नेछन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा पनि महन्थ ठाकुरले नै अध्यक्षता गरेका थिए । त्योबेला पनि यादव बैठकमा अनुपस्थित थिए।

सापकोटाको मात्रै उम्मेदवारी परे निर्विरोध, नत्र निर्वाचन

प्रतिनिधिसभामा नेकपाको झन्डै दुई तिहाइ बहुमत छ । सभामुखमा नेकपाले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि पनि नेकपाकै कृष्णबहादुर महरा सभामुख थिए । उनी निर्विरोध निर्वाचित भएका थिए ।

सापकोटाका हकमा प्रतिपक्षी कांग्रेसले प्रतिद्वन्द्वी उम्मेदवार खडा गर्छ कि गर्दैन भन्ने निश्चित भएको छैन । कांग्रेस नेता रमेश लेखकले भोलिमात्रै कांग्रेसले यसबारेमा आफ्नो धारणा तय गर्ने बताए । 'सम्भवतः भोलि संसदीय दलको बैठक बसेर यसबारेमा छलफल हुनेछ,' उनले भने ।

प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार एकमात्र उम्मेदवारी परे सभामुखको प्रस्ताव सांसदले राखेको प्रस्तावमा समर्थकले बोलेपछि अध्यक्षले निर्वाचित भएको घोषणा गर्नेछ । एकभन्दा बढी उम्मेदवारी परेको खण्डमा भने उम्मेदवारका समर्थकले बोलेपछि अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभा नियमावलीमा यस्तो छ सभामुख निर्वाचनको प्रक्रियाः

सभामुखले पदभार गरेपछ उपसभामुखको निर्वाचन

उपसभामुखको निर्वाचन भने नयाँ सभामुखले पदभार ग्रहण गरेपछि हुनेछ । उपसभामुख फरक दलको हुनुपर्ने र सभामुख तथा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुखको निर्वाचन पछि हुने भएको हो ।

प्रतिनिधसभा सचिव गोपालनाथ योगीका अनुसार 'सभामुख र उपसभामुख फरक-फरक दल र एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखले बैठक सम्हालेपछि उपसभामुखको निर्वाचन हुनेछ ।'

यस आधारमा हेर्दा उपसभामुख निर्वाचन माघ १० गतेपछि मात्रै सुरु हुनेछ । तबसम्म सभामुखको निर्वाचन भइसक्ने संसद सचिवालयको अपेक्षा छ ।

सम्बन्धित समाचारः

प्रकाशित : माघ ५, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?