कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उपसभामुखले राजीनामा नदिँदा रोकियो नेकपामा सभामुख चयनको निर्णायक संवाद

उपसभामुख राजीनामा नदिने अडानमै
बबिता शर्मा

काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा नआएका कारण नेकपामा सभामुख कसलाई बनाउने भन्ने संवाद थप पेचिलो भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको खोजी भन्नेमा विवाद देखिएको छ ।

उपसभामुखले राजीनामा नदिँदा रोकियो नेकपामा सभामुख चयनको निर्णायक संवाद

नेकपा स्रोतका अनुसार ओलीले पहिला सभामुखको टुंगो लगाए उपसभामुखको राजीनामामा कुनै समस्या नहुने बताएका छन् । दाहाल भने उपसभामुखको राजीनामापछि मात्रै सभामुखसहित सबै विषय टुंग्याउन सजिलो हुने पक्षमा छन् । दाहालले छिटो उपसभामुखलाई राजीनामा गराएर प्रक्रिया सहज बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।

बुधबार दिउँसो संगठन विभाग प्रमुख वामदेव गौतम निवासमा भएको गोप्य छलफलमा दाहालले उपसभामुखको राजीनामालाई लिएर प्रधानमन्त्री ओली र आफूबीच रहेको मतभेदबारे सुनाएका थिए । छलफलमा गौतमबाहेक अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार दाहालले उपसभामुखलाई राजीनामा नगराउँदा सभामुख चयन प्रक्रिया पेचिलो भएको बताएका थिए । ती नेताका अनुसार प्रधानमन्त्री ओलीकै इशाराका कारण उपसभामुख तुम्बाहाङ्फेको राजीनामा आउन ढिला भएको विषयमा छलफलमा भएको थियो ।

ओली पक्षले उपसभामुख कार्ड प्रयोग गरेको र उनलाई राजीनामा नदिन भनेको समेत छलफलमा विषय उठेको ती नेताले दाबी गरे । तुम्बाहाङ्फेले आफै पनि सभामुखमा आंकाक्षा राखेकी छन् । उनलाई राष्ट्रपति विद्या भण्डारीको साथ छ ।

यसबाहेक नेकपामा सभामुखका लागि प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र अध्यक्ष दाहालले अग्नि सापकोटाको नाम अगाडि सारेका छन् । यद्यपि दाहालले पहिला पूर्वसहमतिअनुसार पूर्वमाओवादी समूहले पाउने निश्चित गरेपछि व्यक्तिमा जान सजिलो हुने पक्षमा छन् ।


तर, प्रधानमन्त्री ओली एकता भइसकेपछि ‘पूर्व–पश्चिम’ का कुरा गर्नुभन्दा अनुभवी र कानूनका जानकार नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन् ।

दाहालले पार्टी एकता पूर्व प्रधानमन्त्री र सभामुख भिन्दाभिन्दै समूहले पाएको र कृष्णबहादुर महराको राजीनामापछि पनि त्यही सहमतिअनुसार अहिले सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने अडानमा छन् ।

ओली र दाहालका आ–आफ्नो चासो र अडानले सभामुखको खोजी थप पेचिलो बनेको छ । ओली र दाहालबीच दैनिकजसो वार्ता भएपनि सभामुखको विषय निष्कर्षमा पुगेको छैन।

संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन व्यवस्था छ । त्यसैकारण सभामुख आफ्नो पार्टीको बनाउन नेकपाले उपसभामुख छाड्‌नै पर्ने बाध्यता छ ।


पार्टी प्रवक्ता श्रेष्ठले उपसभामुखको राजीनामा आएपछि सभामुखको टुंगो लगाउन सजिलो हुने बताए । आगामी सचिवालय वैठकमा उपसभामुखको राजीनामा छिटो गराउने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपाले सभामुख खोज्न नसक्दा प्रतिनिधिसभा बन्धक बनेको छ । पुस ४ गते सुरु भएको संसदको बैठक तीनपटक सूचना टाँसेर स्थगित भइसकेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते बोलाइएको छ । तर, शुक्रवारसम्म ओली र दाहालबीच सभामुखको विषय टुंगिएको छैन् ।

दुई अध्यक्ष ओली र दाहालबीच लगातार संवाद भएपनि नेकपाभित्र औपचारिक रुपमा सभामुख चयनको विषयले प्रवेश पाएको छैन् । पार्टी बैठकमा प्रवेश नभएकाले सभामुख कसलाई र कुन समूहलाई बनाउने भन्नेमा सचिवालयका अन्य नेताको स्पष्ट धारणा आएको छैन् । ओली र दाहाललाई सभामुख नछाड्न आफूनिकट नेताहरुको दबाब छ ।

संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबर्जस्ती करणीको आरोपपछि सभामुख कृष्णबहादुर महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसपछि सभामुखको खोजी सुरु भएपनि नेकपामा तीन महिनासम्म सहमति जुटेको छैन् ।

वाम गठबन्धनको हैसियतमा चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँड हुँदा सभामुख माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । त्यसैअनुसार महरा सभामुख र शिवमाया तुम्बाहाङ्फे उपसभामुख भएका थिए ।

यसैका आधारमा महराको राजीनामापछि सभामुख पद आफ्नो समूहले पाउनुपर्ने दाबी पूर्वमाओवादी समूहको छ । पूर्वएमाले समूहले पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्वसहमति खोज्न नहुने तर्क अगाडि सारेको छ ।

उपसभामुख राजीनामा नदिने अडानमै

राजीनामा नदिएका कारण सभामुख चयन प्रक्रिया जटिल बनेको पूर्वमाओवादीका केही नेताहरुको भनाइप्रति उपसभामुख तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छिन् ।

बालुवाटारनिकट स्राेतका अनुसार शुक्रबार प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयसँगको भेटमा उपसभामुखले असन्तुष्टि जनाएकी हुन् । 'राजीनामा नदिएर नै सबै कुरा रोकियाे भनेर पूर्व माओवादीका केही नेताले भनिरहनु भएको छ । उहाँहरुले के आधारमा त्यसाे बोलिरहनु भएकाे छ । यो एकप्रकारको हिंसा हाे । कुन संस्थागत निर्णय र कुन कानुनका आधारमा भनिरहनु भएकाे छ ?,' उनकाे भनाइ उद्धृत गर्दै स्राेतले भन्यो ।


अध्यक्षद्वयसँगको भेटमा उपसभामुख तुम्बाहाङ्फेले महराको दोषको भागिदार आफू नबन्ने कुरा पनि दोहोर्याएकी छिन् । ‘महराको दोषको भागिदार म हुन्न । एकिदनको समय छ । उपसभामुखबाट राजीनामा दिने हो भने सभामुख बनाउने ग्यारेन्टी गर्नुस् । हैन भने आइतबारको संसद बैठकबाट सभामुख निर्वाचनको घोषणा गरिदिन्छु ।' उपसभामसख तुम्बाहाङ्फेलाई उद्धृत गर्दै स्रोतले भन्यो ।


उपसभामुखसँगकाे छलफलपछि केही समय ओली दाहालबीच एक्लाएक्लै वार्ता भएकाे थियो । तर उनीहरुबीच सभामुखका विषयमा सहमति भने जुट्‌न सकेन ।

प्रकाशित : पुस २५, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?