कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पैसा छाप्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा लेखा समितिले थाल्यो छानबिन

जयसिंह महरा

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा सरकारले फ्रान्सबाट किन्न लागेको पैसासमेत छाप्ने क्षमताको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आशंकामा संघीय संसदको सार्वजिनक लेखा समितिले छानबिन थालेको छ ।

पैसा छाप्ने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा लेखा समितिले थाल्यो छानबिन

सार्वजनिक लेखा समितिले उक्त विषयमा सोमबारबाट छानबिन थालेको छ । समितिमा परेको उजुरीका आधारमा लेखा समितिले प्रिन्टिङ प्रेस खरिदका विषयमा प्रिन्टिङ प्रेसका विज्ञ विजयप्रकाश मिश्र र सफ्टवेयर इन्जिनियर सुधीरराज पाण्डेसँग छलफल गरेको हो । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पाण्डे प्रधानमन्त्रीका आईटी विज्ञ थिए ।

समितिको बैठकमा विज्ञको रूपमा उपस्थित मिश्रले लागत मूल्यभन्दा करिब ७ अर्ब रुपैयाँ बढाएर प्रस्ताव गरेको कम्पनीलाई खरिद अनुमति दिन लागेको भन्दै प्रश्न उठाएका थिए ।

मिश्रले ९० देखि ९५ मिलियन युरो पर्ने मेसिनलाई १सय ५५ देखि १सय ६० मिलियन युरो प्रस्ताव गरिएकोले त्यसमा अनियमितताको आशंका रहेको बताए । उनले यस विषयमा संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरे । सम्बन्धित कम्पनीले गर्दा ९० देखि ९५ मिलियन युरो पर्छ । होल सोलुसनसहितको गर्दा २ सय मिलियन युरो पर्छ,' उनले भने, ‘तर सरकारले १७-१८ मिलियन युरोको मेसिन ल्याएर १ सय ७५ मिलियन युरो प्रस्ताव गरेको कम्पनीलाई अनुमति दिँदैछ । होल सोलुसनसहित ९० देखि ९५ मिलियन युरो पर्ने मेसिनलाई १ सय ५५ देखि १ सय ६० मिलियन युरो सरकारले कस्तो अवस्थामा खर्च गर्दैछ भन्ने कुरा आफैँ विचार गर्नुहोस् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रस्तावमा गत मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सेक्युरिटी प्रिन्टिङ सम्बन्धित उपकरण खरिद गर्ने निर्णय गरेको थियो । सरकारले फ्रान्सेली र जर्मनी कम्पनीसँग जीटुजी मोडेलमा उक्त उपकरण खरिद गर्न सम्झौता तयारी गरेको छ ।

समिति सभापति भरतकुमार शाहले जीटुजी मोडेलमा यसअघि पनि भ्रष्टाचार हुने गरेको उदाहरण प्रस्तुत गर्दै यस विषयमा छानबिन गर्ने बताए । उनले सार्वजनिक खरिद नियमावलीलाई लत्याउँदै भ्रष्टाचार गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रकाशित : पुस २१, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?