रेबिकाको उपचारमा ७ लाख रुपैयाँ खर्च, सरकारले दिएन

जेष्ठ ७, २०८२

विवेक पोख्रेल

7 lakh rupees spent on Rebecca's treatment, the government did not give it

काठमाडौँ — गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुरकी २२ वर्षीया रेबिका खत्री अझै अस्पतालमै छिन्। उनको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर घाइतेको उपचारको जिम्मा लिने घोषणा गरेको सरकारले एक रुपैयाँ पनि दिएको छैन।

छोरीको उपचारका लागि सयकडा तीनका दरले ब्याज तिर्ने गरी ऋण खोजेर काम चलाइरहेको बुवा तुलसीराम खत्रीले बताए।

‘अस्पतालभित्र औषधि सबै हुँदैन, बाहिरको किन्दा पैसा नदिएसम्म पाइँदैन,’ उनले भने, ‘अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । हामीले सरकारसँग खर्च भएको रकमको बिल पेस गरिसकेका छौँ। तर अहिलेसम्म सरकारबाट उपचार खर्च एक रुपैयाँ पनि ‘रिफन्ड’ भएको छैन ।’ 

आफूलाई भेट्न आउने सबैसँग रेबिकाले आफ्नो वेदना सुनाइरहेकी हुन्छिन्- ‘मैले खाना खाइरहेकी छु, बोल्न सकिरहेकी छु। तर उपचारमा कमजोरी भयो भने मेरो शरीरको अंग नै गुम्न सक्छ!'

चैत्र १५ गते नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर फर्किने क्रममा उनलाई प्रहरीको गोली लागेको थियो।सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखेर वार्डको क्याबिनमा सारिएकी रेबिकालाई प्लास्टिक सर्जरी गर्न भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा लगिएको थियो। तर गोली लागेको ठाउँबाट अत्यधिक रगत बगेपछि चिकित्सकले खुट्टा नै काट्नुपर्ने परिवारलाई बताएका थिए ।

अहिले उनको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको तेस्रो तल्लामा रहेको सीटीभीएस आईसियुमा उपचार हुँदैछ । ‘हामीलाई यो अस्पताल रिफर गर्ने भन्ने जानकारी नै थिएन,’ रेबिकाका बुबा तुलसीरामले भने,‘२ गते साँझ त्रिवि शिक्षण अस्पताल ल्याइयो, रगत अत्यधिक बगेपछि ४ गते मनमोहनको आईसियुमा राखियो ।’

तुलसीरामका अनुसार त्रिवि शिक्षण अस्पताल ल्याएपछि चिकित्सकले अप्रेसन गरेको ठाउँबाट अत्यधिक रगत बगेको भन्दै खुट्टा नै काट्नुपर्ने बताएका थिए । ‘हामीसँग समय छ, केही समय हेरौँ भनेर चिकित्सकलाई अनुरोध गरेँ,’ उनले भने,‘अहिले अवस्था ठीक हुँदैछ भनेर चिकित्सकले खुट्टा काट्नुपर्ने विषय भन्नु भएको छैन ।’

दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेपछि रेबिकाको अवस्था सुरुदेखि नै जटिल रहेको चिकित्सकले बताएका थिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार रेबिकाको गोली लागेर चुँडिएको नसाबाट पुनः रक्तस्राव हुन थालेपछि शल्यक्रिया गरिएको हो।

अस्पतालका वरिष्ठ भस्कुलर सर्जन डा. उत्तमकृष्ण श्रेष्ठले उनको शल्यक्रिया गरेका हुन् । ‘सिभिल अस्पतालमा लामो समय उपचार गरेपछि यता ल्याइएको थियो । यता ल्याउँदा ग्राफ्ट गरेर जोडिएको नसाबाट रक्तस्राव भएका कारण त्यसलाई नियन्त्रण गर्न शल्यक्रिया गरिएको थियो,’ गजुरेलले भने, ‘अहिले उनको अवस्था सुधारोन्मुख रहेको जानकारी मैले पाएको छु ।’

घर खर्च धान्न मुस्किल भएपछि अनिता र रेबिकाका दाइ जापान छन् । दुई वर्षअघि तुलसीरामको पनि फोक्सोमा पानी जमेपछि उपचार गर्न ७ लाख खर्च भएको थियो । रेबिकाको आमा नियमित औषधि प्रयोग गर्छिन् । रेबिकालाई गोली लागेपछि अहिले उनीहरूको परिवारले गाउँमा सञ्चालन गरेको सानो डेरी उद्योग पनि बन्द छ । घरको ढोका बन्द गरेको उनको सबै परिवार अस्पतालमा छ ।

राजावादीको प्रदर्शनका दिन ग्वार्को जाने गाडी नपाएपछि रेबिकाले दाइ दिनेश (ठूलो बुबाको छोरा) लाई फोन गरेर 'प्रहरी र प्रदर्शनकारीको झडपले डर लाग्यो, गाडी पनि पाइनँ' भनेर लिन बोलाएकी थिइन् । दाजुबहिनी कोठामा पुग्नै लाग्दा दिनेशको देब्रे खुट्टा छेडेर गएको गोलीले रेबिकाको दाहिने खुट्टाको तिघ्रामा लागेको थियो । दिनेश सामान्य उपचारपछि पाँच दिनमा डिस्चार्ज भएपनि रेबिकाको खुट्टा पटकपटक चिकित्सकले अप्रेसन गर्दा पनि अप्रेसन सफल हुन सकेको छैन ।

डिल्लीप्रसाद पनि अझै अस्पतालमै

चैत १५ को प्रदर्शनमा गोली लागेर घाइते रेबिकासँगै पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेलको ट्रमा अस्पतालमा उपचार चलिरहेको छ । पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ  बीएन्डबी अस्पतालमा नियमित फलोअपमा छन् । श्रेष्ठको पाखुरामा स्टिल राख्ने काम सकिए पनि पाखुराको नसाको अप्रेसन गर्न अझै बाँकी छ । लुइँटेलको पेटको अप्रेसन अझै बाँकी छ । 

‘दुई वटा आन्द्रा पेट बाहिर नै राखेर उपचार भइराखेको छ’, लुइँटेलले भने,‘अझै अप्रेसन बाँकी नै छ, अस्पतालबाट कहिले डिस्चार्ज हुने हो कुनै टुंगो छैन ।’

यता अस्पतालमा उपचाररत र उपचारपछि डिस्चार्ज भएकाहरू सबैलाई आर्थिक समस्याले सताउन थालेको छ । उपचार खर्च सरकारले निःशुल्क गर्ने भनेपनि बाहिर किन्नुपर्ने औषधिसँगै बिरामी र कुरुवाको बसाई नै कष्टकर बनेको छ । काम गरेर गुजारा चलाउने उनीहरू आराम गर्नुपर्ने भएकाले घरखर्च नै चलाउन मुस्किल भएको हो । हातमा गोलीको छर्रा लागेका दोलखाका रामचन्द्र बुढाथोकी आफू घाइते भएपछि परिवारको गुजारा चलाउन नै मुस्किल भएको बताउँछन् । 

‘गाडी चलाएर परिवारको खर्च धानेको थिएँ,’ बुढाथोकीले भने,‘बिहान बेलुका भात खान पनि मुस्किल भएको छ । सरसापटी र उधारोमा किनेका छौँ । कसरी तिर्ने टुंगो छैन ।’ लुइँटेल पनि सरकारले बेवास्ता गरेको बताउँछन् । 

चैत १५ गतेको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए ।

राजावादी आन्दोलन

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully