गोली लागेपछि न्युरोडमा होलसेल पसल खोल्ने रामहरिको सपना अधुरै

वैशाख २६, २०८२

विवेक पोख्रेल

After the shooting, Ramhari's dream of opening a wholesale shop in New Road is unfulfilled

काठमाडौँ — १५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेका काभ्रेका रामहरि श्रेष्ठ अहिले पनि बी एन्ड बी अस्पतालमा उपचाररत छन् । दाहिने पाखुरामा गोली लागेका श्रेष्ठको पाखुरामा मासु भर्ने, स्टिल राखेर हड्डी जोड्ने र छुटेका नसा जोड्नलाई उपचार चलिरहेको छ ।

‘गोली लागेर हड्डी र मासु धुजा–धुजा भएको थियो । त्यसको उपचार गर्ने काम त भएको छ । तर, डेढ इन्च हात नै छोटो भएको छ, ’ श्रेष्ठले भने, ‘अहिले पनि हात त चलेको छैन, प्यारालाइसिस भएको जस्तै भएको छ ।’ नियमित उपचार, फिजियोथेरेपी र एक्सरसाइजले ढिलो नै भएपनि सुधार हुने आशामा छन् उनी ।

जडिबुटी चोकमा मोबाइल पसल सञ्चालन गर्दै आएका उनलाई अस्पतालको बेडमा एउटै चिन्ताले सताउँछ 'पहिलेको जस्तै काम गर्न सक्छु कि सक्दिनँ ?' भनेर । ‘अस्पतालमा उपचार भएको पनि एक महिना बित्यो । अझै कति समय लाग्ने हो ? मेरो त आम्दानीको स्रोत नै रोकियो । हात नै ठीक भएन भने के गर्ने होला ? भन्ने चिन्ता लाग्छ,’ उनले भने, ‘केही लोन पनि थियो, भर्खर घर बनाउने तयारीमा थियौं । नयाँ सोचहरु पनि सबै हराउने भए ।’

उनलाई चीनबाट सामान ल्याएर आफ्नो मोबाइल पसललाई बिस्तार गरी न्युरोडमा लैजान मन थियो । ‘साथीहरुसँग पनि कुरा भएको थियो । यही वर्षबाट होलसेल पसल न्युरोडमा सञ्चालन गर्ने सोचमा थिएँ,’ उनले भने, ‘बहिनीले पनि कपडाको पसल खोल्ने भनेकी थिइन् । उनलाई पनि सहयोग गर्ने योजना बनाएको थिएँ । अब त मेरो सबै सपना अधुरा हुने भए । अहिले त शारीरिक रूपमा काम गर्न नसक्ने अवस्था नै छ ।’

उनी बिहानको समयमा थेरापी गर्छन् । त्यसपछि मोबाइल चलाउने र आएका साथीहरूसँग कुराकानी गर्ने गरेका छन् । आफू घाइते भएको सम्झँदा तनाव बढ्दै गएको उनले बताए । ‘सोचेर मात्र के गर्नु झन् तनाव बढ्छ । अस्पतालमा घरको काम छाडेर कुरुवा बस्नेहरुलाई पनि तनाव भएको होला । सरकारले डिस्चार्ज भएपछिको खर्च के छ ? थाहा छैन,’ अस्पतालको बेडबाट विस्तारै उठ्दै उनले भने, ‘केही गर्न सकिएन भने भारी बोकेर खान्छु भन्न पनि नमिल्ने भयो ।’

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully