राजावादीको प्रदर्शनमा घाइते भएका डिल्लीप्रसाद अस्पतालको वार्डबाटै गर्दैछन् लोकसेवाको तयारी

वैशाख १९, २०८२

विवेक पोख्रेल

Dilli Prasad, who was injured in the Rajawadi demonstration, is preparing for public service from the hospital ward

काठमाडौँ — राजावादीको प्रदर्शनमा चैत १५ मा गोली लागेर घाइतेमध्ये एक डिल्लीप्रसाद लुइँटेलको ट्रमा अस्पतालमा उपचार चलिरहेको छ । अस्पतालको छैटौं तल्लामा रहेको वार्डमा उनी उपचारसँगै लोकसेवाको पनि तयारी गरिरहेका छन् ।

‘कोशी र लुम्बिनी प्रदेशको पाँचौँ तहको परीक्षा फर्म भरेर पनि दिन पाइनँ, शिक्षासेवा आयोगको जेठ १७ गते परीक्षा हुदैँछ त्यो पनि दिन जान सक्ने अवस्था छैन,’उनले भने, ‘निको भएपछि त परीक्षा दिने हो । त्यसैले तयारी गरिरहेको छु ।’

उनी अहिले शिक्षक सेवा आयोगको आधारभूत तहको किताब पढिरहेका छन् । ‘फुर्सदको समयमा मोबाइलमा गेम खेल्छु नत्र किताब नै पढ्छु,' उनले भने ।

भोजपुरको टेम्केमैयुङ–६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल काठमाडौंमा बसको टिकट काउन्टरमा काम गर्दै लोकसेवाको तयारी गरिरहेका थिए । १५ चैतमा राजावादीको प्रदर्शनका कारण बस नचलेर फुर्सदिला बनेपछि उनी साथीहरूसँगै प्रदर्शन हेर्न पुगेका थिए । त्यही बेला पेटमा गोली लागेर उनी घाइते भए । ‘हस्पिटलबाट कहिले निस्कन पाइन्छ होला जस्तो भएको छ । मेरो नै भरमा घर खर्च चलेको थियो,’ उनले थपे, ‘एक महिना भयो माहिलो भाइ मसँगै अस्पतालमा कुरुवाको रुपमा छ । दुई भाइ गाउँकै स्कुलमा पढ्छन्, पारिवारिक कारणले बैनी कलेज जान छाडिन् ।’

उनका अनुसार आमा क्यान्सरले बितेपछि परिवारको जिम्मेवारी आफैँले धानेका थिए । घाइतेको उपचार सरकारले नै गर्छ भने पनि अस्पतालबाहिर औषधि किन्दा र खाना बस्दाको खर्च झन्डै डेढ लाख रुपैयाँ पुगेको उनले सुनाए । ‘अस्पतालमा पैसा तिर्नुपरेको छैन । बाहिर औषधी किन्नुपर्‍यो भने त पैसा अनिवार्य चाहियो,’ उनले निराश हुँदै भने, ‘लोकसेवाको तयारी राम्रोसँग गरौँला, पुरानो घरलाई नयाँ बनाउला, भाइबहिनीको पढाइमा सहयोग गरौंला र आफू पनि बिहेवारी गरौँला भन्ने थियो तर सबै सपनाहरु अधुरो हुने डर छ ।’

खुट्टा टेकेर हिँड्न मिलेको छैन । चिकित्सकले अझै ३ महिना बस्नुपर्ने बताएका छन् । आन्द्राको अप्रेसन अझै बाँकी रहेको उनले बताए । अस्पतालबाट निस्किएपछि पहिलेझैँ काम गर्न सकिएला कि नसकिएला भन्ने उनलाई चिन्ता छ । सरकारले रोजगारीमा सहयोग गर्दियोस् भन्ने उनको अपेक्षा छ ।

उनीसँगै पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ र बी एन्ड बी अस्पतालमा, तीघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री सिभिल अस्पतालमा पनि उपचार चलिरहेको छ । अस्पतालमा उपचारत र उपचारपछि डिस्चार्ज भएकाहरुलाई आर्थिक समस्याले सताउन थालेको छ ।

उपचार खर्च सरकारले नि:शुल्क गर्ने भनेपनि बाहिर किन्नुपर्ने औषधीसँगै बिरामी र कुरुवाको बसाईं नै कष्टकर बनेको छ । काम गरेर गुजरा चलाउने उनीहरु आराम गर्नुपर्ने भएकाले घरखर्च नै चलाउन मुस्किल भएको बताउँछन् ।

प्रदर्शनकै क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए ।

राजावादी आन्दोलन

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully