रेबिकालाई अफिसर बन्न मन छ

दाजुबहिनी कोठामा पुग्नै लाग्दा दिनेशको देब्रे खुट्टा छेडेर गएको गोलीले रेबिकाको दाहिने खुट्टाको तिघ्रामा लागेको थियो

वैशाख २, २०८२

विवेक पोख्रेल

Rebecca wants to be an officer

काठमाडौँ — चैत्र १५ गतेको राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेपछि उदयपुरकी २२ वर्षीया रेबिका खत्रीलाई बाँच्दिनँ जस्तो लागेको थियो । ‘गोली लाग्दा सबैलाई गुडबाई भनिसकेकी थिएँ । तर, अहिले त ममा धेरै परिवर्तन आएको छ । ठीक हुन्छ जस्तो लागेको छ,’ १९ दिनदेखि अस्पतालको बेडमा उपचाररत रेबिकाले भनिन्, ‘सुरुका दिनमा मेरो जिन्दगी र सपना सकियो भन्ने लागेको थियो। बाँच्ने आशा नै हराएको थियो ।’ 

उपचारसँगै स्वास्थ्यमा सुधार हुन थालेपछि रेबिका उत्साहित बनेकी हुन् । उनलाई आउँदै गरेको बीबीए तेस्रो वर्षको परीक्षामा समेत सहभागी हुन मन छ । ‘पढेर सरकारी बैंकमा जागिर खाने इच्छा छ,' रेबिकाले भनिन्, ‘अब त परीक्षामा पनि सहभागी हुन सक्छु कि !’ रेबिका घरमा बाबा/आमालाई गाह्रो नहोस् भनेर आफ्नो खर्च आफैँ चलाउन काठमाडौँ आउने बित्तिकै जागिर गरेर पढ्न सुरु गरेकी थिइन् ।

नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर फर्कने क्रममा रेबिकालाई प्रहरीको गोली लागेको थियो । राजावादीको प्रदर्शनले ग्वार्को जाने गाडी नपाएपछि उनले दाइ दिनेश (ठूलोबुबाको छोरा) लाई फोन गरेर 'प्रहरी र प्रदर्शनकारीको झडपले डर लाग्यो, गाडी पनि पाइनँ' भनेर लिन बोलाएकी थिइन् ।

दाजुबहिनी कोठामा पुग्नै लाग्दा दिनेशको देब्रे खुट्टा छेडेर गएको गोलीले रेबिकाको दाहिने खुट्टाको तिघ्रामा लागेको थियो । दिनेश सामान्य उपचारपछि डिस्चार्ज भए पनि रेबिकाको खुट्टाको दुई पटक अपरेसन गर्नु परेको थियो ।

रेबिकाले राज्य सञ्चालकहरूसँग आफ्नो भविष्यसँगै लक्ष्यमा सहयोग गरिदिन माग गरिरहेकी छिन् ।

‘विदेश जाने इच्छा नै छैन । पढेरै नेपालमा केही गर्न मन छ । मलाई लोकसेवा दिएर सरकारी बैंकमा काम गर्ने हो,’ रेबिकाले भन्छिन्, ‘अफिसर बन्न मन छ । बैंकमा जागिर गर्न मन छ । पहिलेको जस्तो स्वस्थ शरीर छैन । अफिसर बन्न यो हालतमा सक्छु कि सक्दिन भन्ने डर हो ।’ रेबिकाले यसका लागि आफूलाई सहयोग गरिदिन समेत सरकारसँग अनुरोध गरेकी छिन् ।

राजावादी आन्दोलन

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully