रेविकालाई प्रहरी देख्दा रिस उठ्छ

चैत्र ३१, २०८१

विवेक पोख्रेल

Revika gets angry when she sees the police

काठमाडौँ — दायाँ तिघ्रामा गोली लागेकी उदयपुरकी २२ वर्षीया रेविका खत्री अहिले सिभिल अस्पतालको सघन उपचार कक्षबाट वार्ड सरेकी छिन् । बुधबार गृहमन्त्रीसँगै गएका एक प्रहरी अधिकृतले पनि उनलाई भेट्न खोजे ।

प्रहरी पोशाकमा रहेका प्रहरी देख्नेबित्तिकै रेविकाले आफ्नो गोली लागेको खुट्टा देखाउँदै  भनिन्,‘यो के गर्नु भएको ? मैले कसको के बिगारेको थिएँ ?  तपाईंहरुको के बिगारेको थिएँ र ? म झण्डा बोकेर ढुंगामुढा बोकेर हिँडेको थिएँ ?  म आफ्नै काम गरेर रुम पनि जान नपाउने ? ’

उनको यी प्रश्नको कुनै जवाफ भएन ती प्रहरीसँग । उनी रेविकालाई स्वास्थ्यलाभको कामना गरेर थप केही नबोली वार्डबाट निस्किए ।

रेविकालाई चैत १५ गतेको घटनापछि प्रहरीप्रति विश्वास र सम्मानै घटेको छ । रेविकाले भनिन्,‘मलाई प्रहरीको ड्रेस देख्नेवित्तिकै अचेल रिस उठ्छ । पहिले मैले यो पोशाकको धेरै सम्मान गर्थेँ ।’ रेविकाले थपिन्,‘ घरमा बाबा/आमालाई गाह्रो नहोस् भनेर आफ्नो खर्च आफैं चलाउन काठमाडौं आउने वित्तिकै जागिर गरेर पढ्न सुरु गरेको थिएँ । म अपाङ्ग भएर अरुको बोझ भएर बाच्नुपर्‍यो भने के हुन्छ ? अहिले सुत्नु उठ्न कति गाह्रो भएको छ । त्यो त मलाई मात्र थाह छ। मेरो पीडा कसले बुझ्न सक्छ ? जसलाई पीडा भयो उसैले त भोग्ने रहेछ ।’ 

नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर फर्कने क्रममा रेविकालाई प्रहरीको गोली लागेको थियो । राजावादीको प्रदर्शनले ग्वार्को जाने गाडी नपाएपछि उनले दाई दिनेश (ठूलोबुबाको छोरा) लाई फोन गरेर प्रहरी र प्रदर्शनकारीको झडपले डर लाग्यो गाडी पनि पाइन् भनेर लिन बोलाएकी थिइन् । दाजुबैनी कोठामा पुग्नै लाग्दा दिनेशको देब्रे खुट्टा छेडेर गएको गोलीले रेविकाको दाहिने खुट्टाको तिघ्रामा लागेको थियो ।  

दिनेश सामान्य उपचार पछि डिस्चार्ज भए पनि रेविकाको  खुट्टाको दुई पटक अप्रेशन गर्नुपर्‍यो । अस्पतालमा बहिनीको हेरचाह गर्दै आएकी दिदी अनिताले भनिन्, ‘दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेको रहेछ । पछि नसाले काम नगरेपछि पुनः अप्रेशन गरेर देब्रे खुट्टाको नसासँग जोडिएको छ ।’

चिकित्सकका अनुसार तिघ्रामा रहने मुख्य नसा फुटेपछि त्यसलाई शल्यक्रिया गरी अर्को तिघ्राबाट नसा ल्याएर जोडिएको छ । तिघ्राको मांसपेशीमा गम्भीर प्रकारले दक्खल परेका कारण प्लास्टिक सर्जरीसहित थप शल्यक्रिया आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

जागिरसँगै रेविकाले बीबीए तेस्रो वर्षको परीक्षाको तयारी समेत गरिरहेकी थिइन् । ‘पढेर सरकारी बैंकमा जागिर खाने इच्छा छ’, रेविकाले भनिन्,‘प्रहरीका कारण मेरो जिन्दगी र सपना सकिए, अब केही गर्न नसक्ने भएको छु ।’

‘म आफैंलाई होहल्ला र भीड् मन पर्दैन, नेताका कुरा र पार्टी पनि बुझ्दिनँ’ उनले थपिन्, ‘मैले दु:ख पाएँ । मेरो तिघ्रामा नभई अन्यन्त्र नै गोली लागेको भएत त म रहने थिइन् होला, यस्तो नियति अरुले भोगनु नपरोस् ।’

उनले राज्य सञ्चालकहरुसँग  आफ्नो भविष्य सुरक्षित गरिदिन माग गरिरहेकी छिन् । प्रदर्शनकारीसँग पनि उनको गुनासो छ। उनि भन्छिन्, ‘मानिस हिँड्ने बाटोमा प्रदर्शन नभएको भए मलाई गोली लाग्ने थिएन ।’

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully