किटनाशक औषधि छर्कंदै ललितपुर महानगर

चैत्र १६, २०७६

सीमा तामाङ

ललितपुर — ललितपुर महानगरपालिकाले सार्वजनिक तथा अस्पताल क्षेत्रमा किटनाशक औषधि छर्कन सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम गर्न महानगरले शनिबारदेखि पानीमा ब्लिचिङ पाउडर मिसाएर औषधि छर्कन थालेको हो ।

कुपण्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल, सातदोबाटो, ग्वार्कोलगायत क्षेत्रमा औषधि छर्किएको महानगरपालिकाको जिन्सी शाखाका प्रमुख सागर थापाले बताए । मुख्य सडकमा महानगरले औषधि छर्किए पनि भित्री सडक तथा गल्लीहरुमा वडा कार्यालय आफैले छर्कने उनले जानकारी दिए । ‘प्रत्येक वडालाई एउटा स्प्रे ट्यांक र एक बोरा ब्लिचिङ पाउडर पठाएका छौं,’ उनले भने, ‘पहिलो चरणमा महानगरभरि औषधि छर्कन्छौं र त्यसपछि अवस्था हेरेर फेरि दोहोर्‍याउँछौं ।’ 

महानगरले दुईवटा पानी ट्यांकर र एउटा जेट मेसिनबाट औषधि छर्किरहेको जनाएको छ । महानगरपालिकाको वडा नम्बर २३, २४, २७ र २९ ले आइतबारदेखि औषधि छर्कन सुरु गरेको उनले बताए ।

चिया पसल बन्द गर्न माइकिङ

महानगरपालिका वडा नम्बर २४ ले वडावासीलाई घरबाहिर ननिस्कन र वडाभित्रका चिया पसलहरू बन्द गर्न आह्वान गरेको छ । वडाध्यक्ष दिनेश कार्कीले चिया पसलमा मान्छे जम्मा हुने भएकाले बन्द गर्न अनुरोध गरेको बताए । ‘भाइरस संक्रमण फैलन नदिन जनताको, वडावासीको सहयोग अपरिहार्य हुन्छ,’ उनले भने ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully