काठमाडौँ — हुवावे नेपालले फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्क स्थापना गरेको छ । गाडी चार्ज प्रालि र निक (नेपाल एकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा हुवावेले हेटौँडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेको हो । सन् २०२५ भित्र नेपालभर चार्जिङ नेटवर्क पुर्याउने कम्पनीको उदेश्य रहेको विज्ञप्तीमा उल्लेख छ । यसले देशभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने कम्पनीको दाबी छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोमबार फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेका थिए । सन् २०२५ को अन्त्यसम्ममा थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशन स्थापना गर्ने हुवावेले जनाएको छ । यसले स्वच्छ ऊर्जामा आधारित, व्यवस्थित र स्तरिय यातायात पूर्वाधारको नयाँ जग बसाल्ने कम्पनीको अपेक्षा छ ।
फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभि चार्जिङ सोलुसन हो । यसले फोटोभोल्टिक्स (पीभी) र ऊर्जा भण्डारण प्रणाली (ईएसएस) लाई एकीकृत गर्दै विद्युतीय ग्रिड-मैत्री, हाई-इफिसिएन्सि स्मार्ट चार्जिङ अनुभव दिने विज्ञप्तीमा भनिएको छ । यसले ५०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्ने र निजी सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका ईभी गाडीका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
