‘मोटोजीपी इन्डिया’ मा नेपाली टोली

आश्विन ५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — मोटोजीपी इन्डियाको अवलोकनका लागि नेपाली बाइकरहरूको टोली भारततर्फ प्रस्थान गरेको छ । यामाहाका प्रशंसक र बाइकर गरी ९ जना समावेश टोलीले आगामी सेप्टेम्बर २३ र २४ मा उत्तर प्रदेशको नोएडास्थित बुद्ध इन्टरनेसनल सर्किटमा हुने ‘मोटोजीपी इन्डिया’ रेसको अनुभव लिने जनाइएको छ ।

यामाहाले पछिल्लो समय नेपालमा रेसिङलाई संस्कृतिका रूपमा विकसित गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ । त्यसअनुसार नै यामाहाले मोटोजीपी प्रत्यक्ष अवलोकन गरी जीवनभरका लागि अविस्मरणीय अनुभव प्राप्त गर्नका लागि यामाहा मालिकहरूलाई आह्वान गरेको थियो । नाम दर्ता गराएकामध्येबाट राइडरहरू संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाह, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का छानिएका हुन् । टोलीको मार्सलका रूपमा भने प्रमोद श्रेष्ठ छन् ।

मोरङ अटो वर्क्स इन्टरप्राइजेजको टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत राजु क्षत्रीले सिट सीमित भएकाले ८ जना राइडरलाई मात्रै छनोट गर्न सकिएको बताए । ‘यो त सुरुवात मात्र हो । नेपालमा मोटरस्पोर्टको उत्थान गर्न हामीले थप मिहिनेत गर्नेछौं,’ उनले भने । उनका अनुसार राइडरहरूको टोली सेप्टेम्बर २७ मा काठमाडौं फर्किनेछ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully