पाहुना स्वागतमा ‘यालमी’

युवाले भोटोमाथि आसकोट, आसकोटमाथि भाङ्ग्रा साथै शरीरको तल्लो भागमा कछाड र शिरमा कालो टोपी लगाएर गीत गाउँदै नाच्छन् । महिला भने हातमा चामलको अक्षता र फूलमाला लिएर उभिन्छन् । यालमी नाच्दै पाहुनालाई गाउँ भित्र्याउने क्रममा स्वागतमा बस्ने दिदीबहिनीले अक्षता र माला लगाइदिन्छन् ।

आश्विन ४, २०८०

आश गुरुङ

लमजुङ — गाउँघरमा प्रायः आमाबुबा छन् । युवा कोही विदेशिएका छन्, कोही सहरबजारमा छन् । लमजुङको घलेगाउँ होमस्टेले निकै ख्याति प्राप्त छ । स्मार्ट भिलेज, सुखी गाउँले चिनिने घलेगाउँमा केही युवा छन्, जो पाहुनाको स्वागतमा आफैं गीत गाएर नाच्ने गर्छन् ।

 घलेगाउँमा स्वागतको माग हुने, ठूलो समूहमा आउने स्वदेशी तथा विदेशी साथै औपचारिक कार्यक्रममा बोलाइने गन्यमान्यका लागि नृत्य संस्कृतिमार्फत पाहुनाको स्वागत गरिन्छ । यसलाई ‘यालमी’ नाच भनिन्छ । 

युवाले भोटोमाथि आसकोट, आसकोटमाथि भाङ्ग्रा साथै शरीरको तल्लो भागमा कछाड र शिरमा कालो टोपी लगाउँदै गीत गाउँदै नाच्छन् । यसमा महिला समावेश हुँदैनन् । महिला हातमा चामलको अक्षता र फूलमाला लिएर उभिन्छन् । यालमी नाच्दै पाहुनालाई गाउँ भित्र्याउँदै गर्दा स्वागतमा बस्ने दिदीबहिनीले पाहुनालाई अक्षता र माला लगाइदिन्छन् । 

घलेगाउँमा अहिले १२ वर्षीय एकेन्द्र गुरुङ, १४ वर्षीय मनोज घले, १५ वर्षीय बुद्धि गुरुङ र २१ वर्षीय अर्जुन गुरुङले यालमी नाच्छन् । अर्जुन एसईई दिएर गाउँमै बसेका युवा हुन् भने अरू ३ जना घलेउत्तरकन्या माविमा पढ्छन् । ‘यालमी नाचेर ३ वर्ष भयो । गुरुहरूले सिकाउनुभयो, हामी नाचेका छौं,’ मनोजले भने । एसईईपछि गाउँ बसेका अर्जुनले संस्कृति जोगाउन युवा लागेको बताए । ‘पाहुना आउँदा स्वागत गर्ने हो । संस्कृति जोगाउन जुटेका छौं,’ उनले भने, ‘सबैको उमेर ढल्किँदै गएपछि पाहुनालाई नाचगान गरेर भित्र्याउने संस्कृति जोगाउने जिम्मा अब हामीमा आयो ।’

यालमी नाचको गायनमा सक्रिय ३५ वर्षीय पदमराज गुरुङका अनुसार बाउबाजेले पहिलेदेखि बचाएर ल्याएको संस्कृति ‘यालमी’ नाच हो । ‘बाजेले बाउलाई सिकाउनुभयो । बाउले हामीलाई सिकाउनुभयो । हामी सिक्दै भाइहरूलाई सिकाइरहेका छौं,’ उनले भने । पाहुनाको अघिअघि मादल बजाएर उफ्रीउफ्री नाचगान गर्दै बाटो बाटो हिँड्दा पहुनाले निकै रमाइलो महसुस गर्ने उनले सुनाए । 

यालमीमा ४ जना नाच्ने हुन्छन् । चार जना मादल बजाउने हुन्छन् । गीत गाउनेहरू १० जना आसपास हुन्छन् । यालमी गुरु ७० वर्षीय गजबहादुर गुरुङका अनुसार यो गीत गाएर नाच्दा पहिलो लहरमा युवाहरू नाच्छन् । बीचमा मादल बजाउने हुन्छन् र गीत गाउने अन्तिममा हुन्छन् । ‘यो कहिलेदेखि उत्पत्ति भयो भनेर भन्न सकिने अवस्था छैन । हाम्रो जिज्युबाजेको पालादेखि नै हो । बाजेले गर्‍यो, बाउले गर्‍यो अनि हामीले पनि यही गर्दै आएका छौं,’ उनले भने । नाचको बीचबीचमा रमाइलो गर्न तीर्थराज गुरुङले कमेडी नाच प्रस्तुत गर्दै आएका छन् ।

पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँअन्तर्गतको कला साहित्य संयोजक नवराज घलेका अनुसार यालमी गीत कृष्ण चरित्रको गायनसँग केही सम्बन्धित छ । तर, यो गीत कृष्ण चरित्र गीत गाउँदा भने गाइँदैन । पाहुनाको स्वागतका लागि मात्रै गाइने र नाचिने यो संस्कृति घलेगाउँमात्रै प्रयोगमा रहेको उनले दाबी गरे ।

पातीसारे बिरुवा, भइँया सुसारेले ठावैँ ठावैँ

नदिए तरुँला हरे चैत बैशैमा, भइँया सुसारेले ठावैँ ठावैँ

शिरैमा सावै मुकुट, ए यालमी मादले साहरी सावै यालमी

घलेका अनुसार गीतहरू नेपाली र गुरुङ भाषा मिसिएका छन् । माथिल्लो हरफको गीत गाउँदा सास लामो तान्नुपर्छ । तल्लो हरफको गीत गाउँदा उफ्रीउफ्री नाचिन्छ । त्यतिबेला रमाइलो लाग्ने पाहुना पनि नाच्छन् । ‘पाहुनाको स्वागतका लागि यो गीत करिब १५ देखि २५ मिनेटसम्म गाइन्छ । यसमा प्रकृतिलाई पुकारिन्छ,’ उनले भने । उनका अनुसार यो नाच घाँटु सेलाउँदा गाउँदै नाचिने संस्कृतिको रूपमा विकास भएको उनी बताउँछन् ।

स्थानीयका अनुसार गुरुङ भाषामा ‘याब’ को अर्थ जाने बुझाउँछ । ‘सब’ को अर्थ मादल बजाएर पुर्‍याउने भन्ने हुन्छ । ‘म्हि’ को अर्थ मानिस हो । याब, सब, म्हि सबै एकीकृत भएर कलान्तरमा ‘यालमी’ रहन गएका गुरुहरूको बुझाइ छ । सांस्कृतिक महत्त्वले समूह पुर्‍याउँदा, संस्कृतिको विसर्जन गरिँदा नाचिने ‘यालमी’ लाई घलेगाउँवासीले पाहुनालाई गाउँ प्रवेश गराउँदा स्वागत गर्ने संस्कृतिको रूपमा विकास गरिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेजका अध्यक्ष प्रेमबहादुर घले बताउँछन् ।

घलेका अनुसार यालमी नाच पठाउने संस्कृति हो । पाहुनालाई गाउँसम्म पठाउने काम यालमी संस्कृतिबाट गर्ने गरिएको उनले बताए । यो नाच गुरुङ समुदायको पौराणिक नाच हो । २०६७ देखि घलेगाउँमा होमस्टे सुरुवात भएदेखि पर्यटकलाई स्वागत गर्न यो नृत्य प्रयोग गरिएको उनले बताए । ‘गीत त पहिले नै थियो । पहिले नै नाचिन्थ्यो । स्वागतको गीत भनिन्थ्यो । हामीले यसलाई जोगाएर ल्याएका हौं,’ उनले भने । घलेगाउँमा अहिले ४४ घरमा होमस्टे सञ्चालनमा छन् । होमस्टे आउने विशेष प्रकारका पहुना र माग गरिआएका पहुनालाई यालमी देखाइने गरिएको उनले बताए ।

युवा ग्यालरी

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully