काठमाडौँ — सन् १९७२ मा आजकै दिन (सेप्टेम्बर २१) मा फिलिपिन्समा राष्ट्रपति फर्डिनान्ड मार्कोसले तानाशाही शासन सुरु गरेका थिए । मार्कोसले मार्सल कानुन लागू गर्दै राजनीतिक नेताहरूलाई जेल हालेका थिए ।
मार्कोसले १९८१ को जनवरीमा मार्सल कानुन अन्त्यको घोषणा गरेका थिए । त्यसलगत्तै उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर १९८३ को आर्थिक संकट र विपक्षी नेताको हत्यापछि उनीविरुद्ध विरोध सुरु भएको थियो । जसका कारण १९८६ मा उनको शासन अन्त्य भएको थियो ।
मार्कोस १९६५ मा फिलिपिन्सको १० औं राष्ट्रपतिका रूपमा पहिलो पटक निर्वाचित भएका थिए । १९८६ सम्म फिलिपिन्सको शासनसत्ता सम्हालेका मार्कोस २० औं शताब्दीका निकै विवादास्पद नेतामध्येमा पर्छन् । खासगरी उनको शासनकालमा फिलिपिन्समा भएको चरम भ्रष्टाचार, जनतामाथि गरिएको दमन र अत्याचारका कारण उनको नाम सम्झिने गरिन्छ । १९१७ को सेप्टेम्बर ११ मा जन्मिएका मार्कोसको १९८९ सेप्टेम्बर २८ मा अमेरिकाको हवाईमा निधन भएको थियो ।
