फेरि पनि घर बनाइदिने आश्वासन

वैशाख २३, २०७९

शंकर आचार्य

पर्सा — उमेरले ४५ वर्ष मात्रै पुगेका वीरगन्ज महानगरपालिका–२२ मनियारीका चोकट मली डोमको जीउज्यान हेर्दा वृद्धजस्तै लाग्छ । गरिबी र भोकले थिचिएका चोकट श्रीमती छिमीदेवी र ६ सन्तानसहित छिमेकी सुरेश मली डोमको जग्गामा छाप्रो बनाएर बसेका छन् । छाप्रोमा छानो त छ तर चारैतिर ह्वाङ्गै छ । हावाहुरी र पानी पर्दा उनीहरू छाप्रोमा बस्न–सुत्न सक्दैनन् । लालाबालासहित छिमेकीको शरणमा पुग्छन् चोकट ।

‘५ वर्षसम्म हामीलाई सोधपुछ गर्ने कोही हुँदैन, अहिले चुनाव आएपछि अनेक प्रलोभन दिन नेताहरू आइपुग्छन् । यसपटक पनि प्रायः सबै उम्मेदवार भोट माग्न आइसके,’ चोकट भन्छन्, ‘यसअघि पनि जनता आवास कार्यक्रमअन्तर्गत घर बनाइदिने बाचा गरेका तिनै नेताहरू यसपटक पनि हामीलाई फकाउन आएका छन्, मैले खोई जनता आवासको घर भनि सोध्दा उनीहरू केही बोल्नै सकेनन् ।’

सुरेशको परिवार नम्बरी जग्गामा २ कोठे घर बनाएर बसिरहेको छ । बस्तीका अन्य डोम परिवारको तुलनामा यो परिवारको अवस्था केही सहज देखिन्छ तर लालाबालासहित ८ जनाको परिवारलाई जीवनयापन गर्न साना २ वटा कोठाले पुगेको छैन । ५ वर्षअघि चुनावमा उनले पनि जनता आवास कार्यक्रमअन्तर्गत घर पाउने आश्वासन पाएका थिए तर, पूरा भएन । ‘खै हाम्रा नेताहरूले भनेको जनता आवास कता हरायो थाहा छैन,’ उनले भने, ‘छिमेकको माझी टोलमा २० वटाभन्दा बढी घर बने, के हामी यो देशको जनता हैनौं ?’

मनियारीमा डोम समुदायका ५ घरधुरीको बसोबास छ । जनसंख्या ४५ को हाराहारी छ । मतदाता ५ जना मात्रै छन् । ५ घरधुरीमध्ये एक परिवारको मात्रै नम्बरी जग्गा छ । अधिकांश नागरिकताविहीन रहेकाले मताधिकारबाट बञ्चित छन् । बस्तीमा एउटा मात्र चापाकल (ट्युबवेल) छ । शौचालय छैन । बालबालिका विद्यालय जाँदैनन् । अशिक्षा, बेरोजगारी, बालविवाह, अस्वस्थ खानपान र जीवनशैली यहाँका अन्य प्रमुख समस्या हुन् । यसबाहेक पनि सधैंभरि आवासकै पिरलो हुने स्थानीय बताउँछन् ।

सुरेशकी श्रीमती उर्मिलाले आफूहरूको सबैभन्दा ठूलो समस्या घर नै रहेको बताइन् । सबैको कच्ची घर भएकाले हावाहुरी र पानी पर्दा लालाबाला च्यापेर छिमेकीको घरमा शरण लिनुको विकल्प नरहेको उनले दुखेसो गरिन् । समाजले ‘महादलित’ को श्रेणीमा राखिदिएकाले पानी नचल्ने र अन्य जातिका छिमेकीसँग उठबस पनि नहुने भएकाले आफूहरूलाई सधैं एक्लिएको महशुस हुने गरेको उनले सुनाइन् । ‘हामीले बनाएका बाँसका सामग्री पूजापाठदेखि विवाहसम्म प्रयोग हुन्छ तर हामीले छोएको चल्दैन,’ उनले भनिन्, ‘ती सामग्री पनि सधैं बिक्दैनन्, कति छाक भोकै बस्नुपर्छ ।’ निर्वाचनमा जोसुकैले जिते पनि जातीय विभेद हटाउन र आफूहरूको जीवनस्तर सुधारमा काम गरिदिए खुसी हुने उनको भनाइ छ ।

स्थानीय तह निर्वाचन २०७९

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully