भड्किलो प्रचारको होडबाजी

गाउँ–सहरको स्वरुप नै बिग्रने गरी फ्लेक्स, पोस्टर र ब्यानर

वैशाख २३, २०७९

लक्ष्मी साह

बारा — वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेर चुनाव चिन्ह प्राप्त गरेदेखि उम्मेदवारहरू प्रचारप्रसारका लागि घरदैलोमा छन् । जिल्लाका सबै स्थानीय तहमा मतदाता रिझाउन लागि परेका उम्मेदवारहरूबीच प्रचार शैलीलाई भने भड्किलो बनाउने होडबाजी नै चलेको छ । हरेकजसो चोक तथा गल्लीहरूमा स्वरुप नै बिग्रनेगरी फ्लेक्स, ठूलाठूला पोस्टर र ब्यानर टाँगिएका छन् ।

डिजे बाजा, लाउडस्पिकरमा चुनावी र भोजपुरी गीत घन्काउँदै घरदैलो र र्‍याली भइरहेको छ । जसका कारण गाउँ, सहर सबैतिर ‘कोलाहल’ कै वातावरण बनेको स्थानीयले गुनासो गरेका छन् ।

‘यतिसम्म कोलाहल मच्चिएको छ कि, कानै थुनेर बस्नु पर्ने स्थिति छ,’ कलैया बजारका इलेक्ट्रोनिक्स व्यवसायी मिथलेश स्वर्णकारले भने, ‘देखासिकीले सानादेखि ठूला पार्टीका उम्मेदवारसम्मले समूहमै भड्किलो र रंगीचंगी प्रचारशैली अपनाइरहेका छन् । चुनावी आचारसंहिताको न पालना भएको छ, न अनुगमन र नियमन नै छ ।’ टेम्पु र चारपांग्रे गाडीमा ब्यानर र झन्डा टाँगेर लाउडस्पिकरमा भोजपुरी गीत र सेर चर्को आवाजमा बजाउँदै प्रचार भइरहेको उनले सुनाए । 

भड्किलो प्रचार शैली नअपनाउन निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि उम्मेदवारहरूले त्यसको बेवास्ता गरिरहेका छन् । आचारसंहिताको बेवास्ता भइरहँदा त्यसको पालना गराउने नियामक अधिकारी भने मौन छन् । नियमन गर्न नागरिकस्तरबाट दबाब बढे पनि सरोकारवालाहरू मुकदर्शक भएर बसेको सर्वसाधारणको आरोप छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार बोलाएको सर्वपक्षीय बैठकमा समेत आचारसंहिता पालनामा कडाइ नगरिएको/नगराइएको भन्दै आलोचना भएको थियो ।

बैठकमा सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन अधिकारीहरू सहभागी थिए । त्यसमा साना दलका प्रतिनिधिले आचारसंहिता उल्लंघन भइरहेकोमा आक्रोश पोखेका थिए । नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्यद्वारमै ठूला पार्टीका उम्मेदवारले आचारसंहिता उल्लंघन हुनेगरी प्रचार शैली अपनाइरहेको भए पनि नियमन नभएको आरोप लगाए ।

गत वैशाख ११ र १२ मा मनोनयन दर्ताको क्रममा होस् या त्यसयताका चुनावी र्याली, आमसभा र घरदैलो कार्यक्रममा होस्, बालबालिकाहरूको प्रयोग बढ्दो छ । विद्यालय बिदा भएकाले बालबालिकाहरू दलको चुनाव चिह्न अंकित झन्डा लिएर दलका कार्यक्रममा सहभागी भएको देखिन्छ । चुनावी प्रचार, सभा, सम्मेलनमा बालबालिकाको प्रयोग गर्नु अवैधानिक भए पनि दलहरू त्यसप्रति सजग नदेखिएको बालअधिकारकर्मी बृजमोहन कुसवाहाले बताए ।

सहायक निर्वाचन अधिकृत इन्द्र योङहाङले मापदण्डभन्दा बाहिर गएर भड्किलो प्रचार शैली नअपनाउने भनेर दल र उम्मेदवारहरूले बुधबार सामूहिक प्रतिबद्धता जनाएको बताए । आचारसंहिता उल्लंघनमा अब कमी आउने उनले विश्वास व्यक्त गरे । ‘अति भयो भने कारबाहीतर्फ जान्छौं,’ उनले भने, ‘तर कारबाही गर्न लिखित उजुरी चाहिन्छ, उजुरीबिना नियमन र कारबाही गर्न सम्भव छैन ।’

स्थानीय तह निर्वाचन २०७९

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully