महासेठ पक्षले महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरेको भन्दै विरोध प्रदर्शन
जनकपुर — एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठ पक्षले एकलौटी महाधिवेशन प्रतिनिधि चयन गरेको भन्दै नेता तथा कार्यकर्ता असन्तुष्ट भएका छन् । पार्टीको १० औं महाधिवेशनका लागि धनुषामा सर्वसम्मत गराउने नाममा महासेठ पक्षले एकलौटी गरेको उनीहरूले आरोप लगाएका हुन् । असन्तुष्ट नेता तथा कार्यकर्ताले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
धनुषा १ ख बाट निर्वाचित प्रदेशसभा सदस्य किसोरी महतोको नेतृत्वमा रेल्वे स्टेसनबाट निस्केको विरोध जुलुस नगर परिक्रमा गरी पार्टी कार्यालय परिसरमा कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरे पनि पार्टीभित्र गुटबाजी अन्त्य गर्नुपर्ने, छुटेका योग्य तथा समर्पित नेतालाई प्रतिनिधी चयन गर्नुपर्ने माग गरेका थिए । स्थायी कमिटी सदस्य महासेठ, धनुषा इन्चार्ज रामचन्द्र्र मण्डल तथा अध्यक्ष राजकिशोर यादवले षड्यन्त्रपूर्वक योग्यलाई महाधिवेशन प्रतिनिधी हुनबाट रोकेको उनीहरूको आरोप थियो ।
विरोध गर्नेमा प्रदेशसभा सदस्य किशोरी महतो, संविधानसभा सदस्यहरू शिला यादव र फरमुद नदाफ, पूर्व पोलिटब्युरो सदस्य श्रीलाल साह, सुकदेव यादव, कमलदेव यादवलगायत छन् । ‘महासेठको घरमा तीन दिन बैठक बसेर सिंगै जिल्लाका प्रतिनिधि चयन गरियो । जोसंग १० जना सक्रिय भोटर छैन, उनलाई प्रतिनिधि बनाइएको छ । बहालवाला सांसद तथा पूर्वसांसदहरूलाई पाखा लगाएका छन् । यो विरोध जुलुस पार्टीभित्रका गलत प्रवृतिको विरुद्ध हो,’ महतोले भने ।
माओवादी केन्द्र छाडेर एमाले रोजेका पूर्व पोलिटब्युरो सदस्य श्रीलाल साहले महासेठले धनुषा क्षेत्र नम्बर ३ र ४ मा तथा जिल्ला अध्यक्ष राजकिशोर यादव र रामचन्द्र मण्डलले क्षेत्र नम्बर १ र २ मा प्रतिनिधि चयन गर्न भागबन्डा गरेको आरोप लगाए । ‘राजकिशोरजीले आफ्नै नाता गोताका चार जनालाई प्रतिनिधि चयन गरेका छन् । महासेठजीले आफ्ना आसेपासेलाई चयन गरेका छन् । समर्पित नेता तथा कार्यकर्ताहरू सडकमा छन्,’ साहले भने ।
धनुषा क्षेत्र नम्बर १ बाट १३, क्षेत्रनम्बर २ बाट ११, क्षेत्र नम्बर ३ बाट १२ र ४ बाट १४ गरी ६० जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्नेमा माओवादी छाडेर एमाले रोजेकाहरूको भागमा भने १२ जनामात्र भएको एक नेताले बताए ।
