अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ

श्रावण २६, २०७८

राजविराज — सप्तरीमा तीन साताभित्र निर्माण हुने भनिएको अक्सिजन प्लान्ट तीन महिना बित्दा पनि बन्न सकेको छैन । आवश्यक मेसिन नआउँदा प्लान्ट निर्माण अघि बढ्न नसकेको हो । गत जेठमा कोरोनाको दोस्रो लहर उच्च हुँदा जिल्लामा अक्सिजनको हाहाकार भएको थियो । 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन सिलिन्डर रित्तिँदै गएपछि र इटहरीलगायतका स्थानमा सिलिन्डर भर्न नमानेपछि जिल्लामा प्लान्ट सञ्चालन गर्ने निर्णय भएको थियो । गजेन्द्रनारायणमा टेन्डरसम्बन्धी प्रक्रियागत समस्याका कारण तत्काल प्लान्ट बन्न सक्ने स्थिति थिएन । त्यसपछि यहाँकै निजी अस्पताल छिन्नमस्ता अस्पतालमा प्लान्ट बनाउने निर्णय जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको थियो ।

छिन्नमस्ता अस्पतालले अक्सिजन प्लान्ट बनाउन तयार भए पनि पैसा अभाव भएको बताएको थियो । जिल्लाका १८ वटै स्थानीय तहले संयुक्त कोष स्थापना गरी हरेक नगरपालिकाले ४ लाखका दरले र गाउँपालिकाले ३ लाखका दरले रकम दिने निर्णय गरिएको थियो । कोषको रकमबाट पछि सोधभर्ना हुने गरी छिन्नमस्तामा प्लान्ट बनाउन जेठमै २० लाख रुपैयाँ पनि दिइयो । तर, कोरोनाको तेस्रो लहर आउन सक्ने चर्चा भइरहँदा पनि आवश्यक पूर्वाधार मानिने प्लान्ट तयार हुन सकेको छैन । 

‘प्लान्ट लगाउन तत्काल रकम अभाव नहोस् भन्ने उद्देश्यका साथ हामीले संयुक्त कोषबाट पछि सोधभर्ना हुने गरी छिन्नमस्ता अस्पताललाई २० लाख रुपैयाँ दियौं,’ राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले भने, ‘तर अझै प्लान्ट लाग्न सकेको छैन् ।’ छिन्नमस्ता अस्पतालले दैनिक एक सय वटा सिलिन्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट ९५ लाख रुपैयाँको लागतमा बनाउन लागिएको बताएको थियो । उक्त अस्पतालले २५ दिनभित्रै प्लान्ट सञ्चालनमा ल्याउने बताए पनि अझै पनि आवश्यक मेसिन नै आउन सकेको छैन ।

छिन्नमस्ता अस्पतालका अध्यक्ष शैलेन्द्रमोहन झाले चीनवाट सामान आउन ढिलाइ हुँदा प्लान्ट तयार हुन नसकेको बताए । उनले भने, ‘सुरुमा केरुङ नाकाबाट सामान ल्याउने गरी डेलिभरी भयो । तर उक्त नाकावाट आउन सक्ने अवस्था नभएपछि अहिले समुद्री बाटो हुँदै कोलकाताबाट रक्सौल हुँदै सामान आइरहेको छ ।’

कोरोना भाइरस

Link copied successfully