वर्षाको कारण वीरगन्ज डुबानमा 

असार १८, २०७८

शंकर आचार्य

पर्सा — अविरल वर्षाको कारण वीरगन्जको विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्ज कार्यालय परिसर डुबानमा परेका छन् । 

बिहीबार रातिदेखि अविरल वर्षाको कारण वीरगन्जको वडा नम्बर १० आदर्शनगर क्षेत्रमा मुख्य सडकनै डुबानमा परेको छ । यो क्षेत्र खाल्डो भएकाले सामान्य वर्षा हुँदा पनि यहाँ पानी जम्ने सम्सया छ । 

यो सडक खण्ड ठाकुरराम क्याम्पस, राष्ट्र बैंक, वीरगन्ज महानगरपालिकाको कार्यालय, नेपाल बैंक लिमिटेड आदि सरकारी कार्यालयमा आवागमन गर्ने मुख्य सडक हो । यसै क्षेत्रमा २ दर्जन बढी निजी बैंक तथा वित्तिय संस्थाहरुको कार्यालय, थुप्रै व्यावासायिक घरानाका कार्यालय तथा वीरगन्जकै मुख्य बजार पनि रहेको छ । वीरगन्जको ओमआश्रम क्षेत्रमा मुख्य सडकमै पानी जमेर सर्वसाधारणलाई आवागमनमा समस्या भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार, पोखरिया ४ का प्रभु साहको फुसको कच्ची घर पानी पसेर ढलेको छ । पकाहामैनपुर गाउँपालिका अन्तर्गत वडा नम्बर ४ मा रहेको खेस्राहा प्रहरी चौकीमा पानी पसेपछि चौकीलाई १ किमी दुरीमा रहेको हरिहर निमाविमा सारिएको छ । 

वीरगन्ज २० उदयपुरघुर्मीमा १६ घर, जीराभवानी गाउँपालिका १ बलुवा टोलमा ४ घर,  जगरनाथपुर गाउँपालिका ५ दशौतामा ४० घर डुबानमा परेका छन् । सिर्सिया खोलाको जलस्तर बढ्दा वीरगन्ज ११ रानीघाट तथा वीरगन्ज २४ रामगढवा खोलाको पानी पसेर धेरै घर तथा सडक डुबानमा परेका छन् । वीरगन्ज २४ खल्वाटोलाका ५ घर विस्थापित भएका छन् । तीमध्ये २ घर वडा कार्यालयमा ३ घर विद्यालय भवनमा आश्रित छन् । वीरगन्ज १९ पशुपति टोलका ४ घर विस्थापित भएका छन् । २ घर पाल टाँगी सडक छेउमा र २ घर छिमेकीकोमा आश्रित छन् । 

अविरल वर्षाको कारण हुलाकी सडक समेत जोखिममा परेको छ । ठोरी गाउँपालिका ४ स्थित हुलाकी सडक खण्डमा ओरिया खोलाले कटान गरी हुलाकी सडक पिच बाटोसम्म आइपुगेको छ । ठोरी गाउँपालिका अन्तर्गत ब्रम्हनगर, निर्मलबस्ती, नयाँ बस्ती, मिलन चोक, आठघरे, शान्तिटोल आदि डुबानमा परेका छन् । धोबिनी गाउँपालिका अन्तर्गतका हरिहरपुर, बखरी, लंगडी तथा जगरनाथपुर गाउँपालिका अन्तर्गतका झक्राहा र मधुबासा टोल डुबानमा परेका छन् । छिपहरमाई गाउँपालिका अन्तर्गतका भिष्वा, जयमंगलापुर, झलमैया, मिर्जापुर गाउ जलमग्न छन् । 

जिराभवानी गाउँपालिका १ पिप्राका १६ घर डुबानमा परेपछि तीनलाई स्थानीय विद्यालयमा बसोबासको व्यवस्था मिलाइएको छ । मंगलबारदेखि जारी अविरल वर्षाको कारण जारी निषेधाज्ञाकोबीच एकसाता यता खुलेको वीरगन्ज तथा जिल्ला अन्य प्रमुख बजारको व्यापारमा फेरी मन्दी आएको छ । सर्वसाधारण अत्यावश्यक पर्दा बाहेक घरबाट ननिस्केकाले व्यापार व्यवसायमा मन्दी आएको हो । हाल वीरगन्जमा किराना पसल बाहेक अन्य पसललाई बिहान १० देखि साँझ ५ बजेसम्म खोल्ने अनुमति छ ।

बाढी-पहिरो

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully