सर्लाही — कोरोनाको सक्रिय संक्रमितको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले ६ दिनका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार मंगलबारदेखि जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
कोरोना संक्रमणको जोखिम पूर्ण नियन्त्रणमा आइनसकेको हुँदा यसको ब्रेकका लागि निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले मंगलबार पाँचौपटक समयावधि थप गरेर निषेधाज्ञाको समय जेठभरी पुर्याएका हुन् ।
यसअघि जारी गरिएको निषेधाज्ञा मंगलबार रातिबाट सकिँदै थियो । जिल्ला प्रशासन कार्यालयको दैनिक बुलेटिनका अनुसार मंगलबारसम्म सर्लाहीमा कूल संक्रमितको संख्या १ हजार ८ सय ८२ पुगेको छ । जसमध्ये हालसम्म उपचार पछि ८ सय ४० जना निको भएका छन् । ७३ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या भने ९ सय ७९ रहेको छ ।
