घरमै पुगेर उपचार

चार पालिकामा स्वास्थ्यकर्मीको ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन

जेष्ठ ४, २०७८

रौतहट — गौर नगरपालिका ७ सिसवाका ४८ वर्षीय गगनदेव गुप्तालाई ज्वरो आएको एक साता बितिसक्यो । उनी अस्पताल जान पनि डराइरहेका छन् । यहीबीच नगरपालिकाले चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ (द्रुत प्रतिकार्य टोली) परिचालन गरेको थाहा पाएर फोन गरे ।

सोमबार अपराह्न स्वास्थ्यकर्मीको टोली घरमै पुगेर उपचार पाएपछि उनी खुसी छन् । आफूलाई कोभिड भएको भन्ने चिन्ताले अस्पताल जान डराइरहेका गुप्तालाई अहिले स्वास्थ्यकर्मीको टिमले घरमै गएर उपचार गरेका हुन् । ज्वरो कम हुने, भिटामिनसहित स्वास्थ्यकर्मीले दबाइ दिएको र्‍यापिट टिमका संयोजक तथा पब्लिक हेल्थ अफिसर प्रमोदराय यादवले बताए ।

पछिल्लो समय कोभिड १९ को संक्रमणका कारण बिरामी भए पनि धेरै व्यक्ति अस्पताल जान डराएका छन् । उनीहरू रुघाखोकी, ज्वरो आए पनि घरमै बस्छन् । बजारबाट औषधि मगाएर खान्छन् । गाउँघरका मानिसहरू सामान्य रुघाखोकीमा पनि आफूलाई कोरोना लाग्यो कि भन्ने चिन्ताले झनै बिरामी परेको अवस्था छ । यस्तो बेला यहाँका गौर, राजदेवी, ईशनाथ नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले स्वास्थ्यकर्मीसहितको टिम बनाएर घरमै पुगेर उपचार गर्न खटाएका छन् ।

स्थानीय तहका स्वास्थ्य संयोजकले चिकित्सकसहितको टिम बनाएर गाउँगाउँमा परिचालन गरेका छन् । नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिने गरी खटाएको हो । सवारी र इन्धन पनि नगरपालिकाले नै व्यवस्था गरिदिएको छ । जिल्लामा सबैभन्दा पहिले राजदेवी नगरपालिकाले वैशाख ३० गतेदेखि घरमै पुगेर उपचार थालेको हो । 

गौरका मेयर अजय गुप्ताले संकटको घडीमा घरमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको बताए । ‘अहिले मानिसहरू घर/घरमा बिरामी परेका छन्,’ उनले भने, ‘यस्तो बेला घरदैलोमै पुगेर उपचार गरे ठूलो राहत पुग्छ । त्यही भएर टोली खटाएका हौं ।’ यसले धेरैलाई राहत पुगेको उनले महसुस गरेका छन् । बिरामीले सुरुमा नगरपालिका वा टिम संयोजकलाई फोन गर्नुपर्छ । त्यसपछि तत्कालै चिकित्सक बिरामीको घर पुग्छन् र उपचार सुरु गर्छन् । कोभिडको लक्षण छ भने पीसीआर गर्न सुझाव दिन्छन् ।

सामान्य बिरामी छन् भने औषधि उपचार गर्छन् । राजदेवी नगरपालिकाले एक सातादेखि दुईजना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीको ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएर स्वास्थ्य सेवा दिइरहेको छ । संक्रमण भएर अक्सिजनको आवश्यकता परेका बिरामीका लागि चन्डियास्थित अस्पतालमा १० बेडको आइसोलेसन सञ्चालित छ । आफूसग भएको श्रोत, साधन र जनशक्तिको उपयोग गर्दै स्वास्थ्यकर्मीसहितको टिमलाई २४ सै घण्टा तैनाथ अवस्थामा राखेको ईशनाथका मेयर सन्तोष मेहताले बताए । उनले आफू चढ्ने गाडीसमेत स्वास्थ्यकर्मीको टोली र परेको बेला बिरामी बोक्न दिएका छन् । 

‘गाउँमा यतिखेर धेरै मानिसहरू रुघाखोकी, ज्वरो, निमोनियाले ग्रस्त छन् । उनीहरू अस्पताल जान डराएका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा घरमै स्वास्थ्यकर्मी गएर उपचार गरे ठूलो राहत पुग्छ र आधा रोग त्यत्तिकै निको हुन्छ ।’ र्‍यापिड टिमले कोरोनासँग मिल्दोजुल्दो धेरै लक्षण पाइएमा उनीहरूको एन्टिजेन वा पीसीआर परीक्षणको व्यवस्था पनि मिलाउने गरेको छ । ईशनाथमा स्वास्थ्य संयोजक इसराजुल खा र सहसयोजक दिनेश साहले टोलीको नेतृत्व गरेका छन् । बिरामीको उपचारमा जान सबारी सहित टोली जतिखेर पनि तयारी अवस्थामा रहन्छन् । गाउँबाट फोन आयो भने तत्कालै पुग्छन् । सामान्य र कोभिडका बिरामीहरूको घरमा पनि पुगेर उपचार गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय तहले स्वास्थ्यकर्मीसहितको ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरेर बिरामीलाई ठूलो राहत पुगेको बताए । ‘संक्रमणका कारण जिल्लामा निषेधाज्ञा जारी छ । बिरामीहरू भनेको बेला बाहिर निस्कन सक्दैनन् । सवारी पाउँदैनन्,’ उनले भने, ‘यस्तो विपत्का बेला घरमै पुगेर स्वास्थ्य सेवा दिनु भनेको निकै ठूलो काम हो । यसले बिरामीलाई ठूलो राहत पुगेको छ ।’

कोरोना भाइरस

Link copied successfully