लक्ष्यभन्दा कम राजस्व संकलन

जेष्ठ ४, २०७८

कान्तिपुर संवाददाता

वीरगन्ज — कोरोनाको पहिलो लहरको समाप्तिसँगै लयमा फर्किएका वीरगन्जका दुवै भन्सारको राजस्व असुली दोस्रो लहर सुरु भएसँगै फेरि घटेको छ ।

वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह दुवै भन्सार कार्यालयले वैशाखको मासिक राजस्व असुली लक्ष्य भेट्टाउन नसकेका हुन् । माघदेखि चैतसम्म यी भन्सारले उत्साहजनक रूपमा राजस्व संकलन गरेका थिए । 

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार वैशाखमा ७ अर्ब ९ करोड ५४ लाख लक्ष्य रहेकोमा ६ अर्ब २२ करोड ९७ लाख मात्र संकलन भएको छ । चालु आवमा वैशाखसम्ममा यो भन्सारले १ खर्ब ३५ अर्ब ९५ करोड असुलीको लक्ष्य पाएकोमा १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकृत सुमित गुप्ता वैशाख १६ देखि जिल्लामा कोभिड महामारीसँगैको निषेधाज्ञाका कारण असर परेको बताउँछन् । चालु आवका लागि यो भन्सारले १ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ ।

सिर्सिया सुक्खा बन्दरगाहले वैशाखमा ५ अर्ब १३ करोड ६६ लाख लक्ष्य रहेकोमा ३ अर्ब ७८ करोड १ लाख रुपैयाँ असुली भएको छ । यो भन्सारले चालु आवमा वैशाखसम्ममा ३५ अर्ब १ करोड लक्ष्य पाएकोमा ३३ अर्ब ९३ करोड ६२ लाख संकलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले निषेधाज्ञाका कारण कार्यालयको कामकाज प्रभावित भई कम राजस्व उठेको बताए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully