अक्सिजन प्लान्ट राखिँदै

जेष्ठ ३, २०७८

कान्तिपुर संवाददाता

सप्तरी — सप्तरीको राजविराजस्थित निजी क्षेत्रको छिन्नमस्ता अस्पतालमा २५ दिनभित्र अक्सिजन प्लान्ट लगाउने गरी काम थालिएको छ ।

दैनिक एक सय वटा सिलिन्डर भर्ने व्यवस्थापनसहित ७० लाख रुपैयाँ लागतमा प्लान्ट लगाउन लागिएको अस्पतालका अध्यक्ष शैलेन्द्रमोहन झाले बताए । पालिकाहरूको संयुक्त कोषबाट ३० लाख रुपैयाँ ऋण दिएर प्लान्ट राख्न लागिएको हो । 

अहिले राजविराजका अस्पतालमा दैनिक रूपमा इटहरीबाट अक्सिजन सिलिन्डर भरेर ल्याउनुपर्ने बाध्यता छ । ‘एउटा सिलिन्डरमात्र भर्न इटहरी पठाउन सकिन्न । १०–२० वटा पठाउँदा नआएसम्म यहाँ समस्या भइहाल्छ,’ गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जीतकुमार झाले भने । छिन्नमस्ताले यसअघि नै अक्सिजन प्लान्ट राख्ने तयारी गरे पनि रकम अभावका कारण रोकिएको थियो । ‘अब स्थानीय तहहरूले पछि सोधभर्ना हुने गरी रकम व्यवस्थापन गर्ने भएकाले काम सुरु गरेका छौं,’ झाले भने ।

उनका अनुसार प्लान्टका लागि आवश्यक सामानको अर्डर दिइसकेएको र दिल्लीबाट सामान आपूर्ति हुन लागेको बताए । ‘२५ दिनभित्र सञ्चालन हुने गरी काम अगाडि बढाएका छौं,’ झाले भने । शनिबार जिल्ला समन्वय समितिमा भएको स्थानीय तहका प्रमुखहरू र स्थानीय प्रशासनको बैठकले अस्पतालाई ऋण दिने निर्णय गरेको थियो ।

जिसस प्रमुख प्रभाकर यादवले गत वैशाख ३ गते नै स्थानीय तहहरूले कोरोना नियन्त्रणका लागि संयुक्त कोष बनाउने निर्णय गरेको बताए । उक्त कोषमा जिल्लाका नगरपालिकाले ४–४ लाख र गाउँपालिकाले ३–३ लाख दिने निर्णय भएको राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले बताए ।

थप ४ संक्रमितको मृत्यु 

सप्तरीमा आइतबार पछिल्लो २४ घण्टामा चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कञ्चनरूप नगरपालिकाका दुई, राजविराज र सप्तकोसी नगरपालिकाका एक–एक गरी चार जनाको मृत्यु भएको हो ।

कञ्चनरूपका दुई संक्रमितमध्ये एक जनाको नोबेल अस्पताल र अर्काको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्यकर्मी डम्बर गुप्ताले जनाए । सप्तरीमा आइतबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully