किट अभावमा परीक्षण बन्द

कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नहुँदा संक्रमण नियन्त्रणबाहिर जाने सम्भावना

जेष्ठ ३, २०७८

रौतहट — चन्द्रपुर–४ का रमेश संग्रौलाले ७० वर्षीय बुबालाई कोरोना पुष्टि भएपछि परिवारकै पीसीआर परीक्षणका लागि नगरपालिकालाई पटक–पटक अनुरोध गरे । एक सातासम्म पनि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्य र आफन्तको स्वाब संकलन हुन नसक्दा उनी तनावमा छन् ।

अहिले सामग्रीको अभाव भन्दै चन्द्रपुर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द भएको छ । संक्रमण देखिएपछि सरोकारवालाले कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा चासो देखाएको छैन ।

चन्द्रपुर–४ कै अर्का एक युवकले आफूलाई संक्रमण भएपछि परिवारका सदस्य र आफन्त गरी ९ जनाको स्वाब परीक्षण गर्न माग गरेको पनि एक साता बितेको बताए । संक्रमण देखिएपछि सम्पर्कमा बसेकाहरू आफैं स्वाब दिन सक्रिय भए पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा सरोकारवालाले चासो देखाएका छैनन् । यहाँ १५/२० जनाको हाराहारीमा दिनहुँ नयाँ संक्रमित थपिँदै छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।

चन्द्रपुरका स्वास्थ्य संयोजक अभय ठाकुरले स्वाब निकाल्ने र राख्ने सामग्री नभएकाले परीक्षण प्रभावित भएको बताए । ‘सामग्री नै छैन् । स्वाब निकाल्नेहरू धेरै छन्,’ उनले भने, ‘प्रदेशमा माग गरेका छौं । आयो भने चाँडै संकलन गर्छौं ।’ परीक्षणका लागि एक सयभन्दा बढीले नाम लेखाएका छन् । कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाने सम्भावना बढेको छ । 

गत वर्ष संक्रमण देखिना साथ स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि सबै कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिएका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अघिल्लो वर्षका तुलनामा यस पटक संक्रमण नियन्त्रणमा स्थानीय तह सुस्ताएको बताए । ‘क्वारेन्टाइन, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा स्थानीय तह आफैंले घर बनाउने, स्वाब संकलन र सामान खरिद गर्ने गर्थे,’ उनले भने, ‘योपालि बजेट छैन् भनेर पन्छिन खोजे ।

पछिल्लो समय अलि तातेका छन् ।’ जिल्लामा संक्रमण रोकथामका लागि वैशाख २४ देखि जारी निषेधाज्ञाको समयावधि दोस्रोपटक थप गरेर जेठ १५ सम्म पुर्‍याइएको छ । संक्रमणको दर भने नघटेको स्वास्थ्य कार्यालय गौरले जनायो । जिल्लामा फागुनको अन्तिममा सक्रिय संक्रमितको संख्या २३ थियो । अहिले बढेर ६ सय ४६ पुगेको छ । 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबारसम्म ७ सय ५१ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ७३ जना निको भएर घर फर्केका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ५१ पुगेको छ । संक्रमितहरू अधिकांश होम आइसोलेसनमा छन् । तिनीहरूको निगरानीमा स्थानीय तहले चासो देखाएको छैन ।

अघिल्लो वर्ष बजेट भएकै कारण कोभिड–१९ को संक्रमण नियन्त्रणका कामहरू भएको र यस वर्ष बजेट अभावले समस्यामा परेको चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले बताए । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर नगरपालिकामा सबैभन्दा बढी १ सय १३ जना संक्रमित छन् । दोस्रोमा गौर नगरपालिकामा १ सय ८ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनायो ।

कोरोना भाइरस

Link copied successfully