एक करोड खर्चमा जडान गरिएको मेसिन सञ्चालन नहुँदा प्राविधिक कर्मचारी पनि हटाइयो
बारा — कलैया उपमहानगरपालिकासहित जिल्लाका आधा दर्जन स्थानीय तहको आर्थिक लगानीमा पाँच महिनाअघि खरिद गरिएको पीसीआर मेसिन प्रयोगविहीन बनेको छ । मेसिनको ८५ लाख, जेनेरेटर र कम्प्युटरसहित १ करोड खर्चमा उपमहानगरपालिकाले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन जडान गरिए पनि सञ्चालन नहुँदा कोठाभित्र थन्क्याइएको छ ।
‘एक करोड खर्चेर मेसिन जडान भए पनि सञ्चालनमा नआउनु नागरिकको स्वास्थ्य अधिकारप्रतिको खेलबाड हो,’ मेसिन खरिदका लागि १२ लाख अनुदान सहयोग गरेका महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले भने, ‘सञ्चालन गर्न असक्षम भए हामीलाई जिम्मेवारी दिए चलाउँछौं ।’ संघीय र प्रदेश सरकारले कोराना जाँचका लागि अनुमति नदिँदा मेसिनबाट कोरोना परीक्षण गर्न नसकिएको कलैया उपमहानगरका मेयर राजेशराय यादव बताउँछन् । ‘अनुमतिका लागि दुवै सरकारसम्म धाएँ,’ उनले भने, ‘सञ्चालनमा नआएपछि कर्मचारी पनि हटाइएको छ ।’
कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट सञ्चालन स्वीकृति नलिँदै मेसिन खरिद गरिएको थियो । मेसिन खरिदपछि ११ जना प्राविधिक र कर्मचारीसमेत उपमहानगरले नियुक्त गरेको थियो । मेसिन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले माथिल्लो निकायमा पत्राचार गरे पनि कुनै अनुमति नआएको कलैया उपमहानगरअन्तर्गतका जनस्वास्थ्य निरीक्षक अजय जयसवालले बताए । ‘मेसिन खरिद त भयो, तर कोठामा मात्र सीमित भयो,’ उनले भने, ‘अहिले कोरोनाको त्रास बढेकाले मेसिन सञ्चालनमा ल्याउनु जरुरी छ ।’
जिल्लामा कोराना संक्रमणबाट ३० भन्दा बढीको मृत्यु भइसकेको छ । भारतीय सीमासित जोडिएको यस क्षेत्रमा जोखिम रहे पनि मेसिन सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय र कलैया जिल्ला अस्पतालले जिम्मेवारी नदिएको स्वास्थ्य कार्यालय प्रमुख रामनरेश यादवले बताए ।
