कोरोना रोकथाम र नियन्त्रणका लागि सप्तरीमा थप एक करोड

श्रावण १२, २०७७

राजविराज — कोरोना संक्रमण ‘समुदाय’मा फैलिएपछि त्यसको नियन्त्रण र रोकथामका लागि प्रदेश २ सरकारले सप्तरी जिल्लामा थप एक करोड रुपैयाँ सहयोग गरेको छ । पछिल्लो समय राजविराजमा कोरोनाको संक्रमितको संख्या बढेपछि लकडाउन गरिएको छ । 

जिल्लाको अवस्थावारे जानकारी लिन सोमबार राजविराज आइपुगेका मुख्यमन्त्री लालबाबु राउतले तत्कालका लागि अस्पताल, स्वास्थ्य कार्यालय लगायत कोरोना रोकथाम र नियन्त्रणमा लागेका कार्यालयहरुलाई प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने बताए ।

उनले आवश्यकता अनुसारको उपकरण र रकमसमेत प्रदेश सरकारले दिने प्रतिबद्धता व्यक्त गरे । प्रदेशमा संक्रमित बढदै गएकाले भेन्टिलेटरको व्यवस्था गर्न प्रदेश सरकार लागि परेको बताउँदै मुख्यमन्त्री राउतले पीसीआर परीक्षणको दायरा थप बढाउनका लागि राजविराज, जनकपुर र वीरगन्जमा थप एक/एक वटा पीसीआर मेसिन खरिद गर्ने प्रदेश सरकारले निर्णय गरेको बताए । 

‘पैसाको कमीका कारण कोरोना नियन्त्रण तथा रोकथाममा कुनै समस्या पर्न दिन्न’ राजविराज नगरपालिकामा आयोजित अन्तरक्रियाका मुख्यमन्त्री राउतले भने, ‘जनताको जीवनरक्षा प्रदेश सरकारको पहिलो दायित्व हो ।’ 

कोरोना भाइरस

Link copied successfully