वीरगन्ज — पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पीसीआर किट (रि–एजेन्ट) काम नलाग्दा वीरगन्जको नारायणी अस्पतालमा रहेको पीसीआर प्रयोगशाला दुई दिनदेखि ठप्प छ ।
प्रयोगशाला सञ्चालन नहुँदा यहाँको एक हजार तीन सय स्वाब नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार रि–एजेन्ट र आरएनए एक्सट्रयाक्सनको अभावमा सोमबारदेखि प्रयोगशाला सञ्चालनमा आएको छैन । ‘सरकारले पठाएको पीसीआर किट हाम्रो मेसिनसँग मिल्दो छैन्,’ कान्तिपुरसँग डा.उपाध्यायले भने, ‘स्वास्थ्य मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको लिखित जानकारी गराएका छौँ ।’
उनका अनुसार पीसीआर किट र आरएनए एक्सट्रयाक्सनको अभावमा पीसीआर मेसिन ठप्प भएको हो । लिखित रुपमै जानकारी गराए पनि कुनै जवाफ नआएको उनले बताए । रि–एजेन्टका लागि एम्बुलेन्स काठमाडौं पठाइएको छ । सम्बद्ध स्रोतका अनुसार नेपाली सेनाले खरिद गरी जनस्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको पीसीआर किट प्रयोगमा नआएको हो ।
‘नारायणी प्रयोगशालामा पीसीआर मेसिन सञ्चालनमा आएदेखिको पछिल्लो दुई महिनामा आठ वटा कम्पनीका पीसीआर किट मन्त्रालयले पठाएको छ, ती सबै मेसिनसँग मिल्दो भएकाले प्रयोगमा आएका थिए,’ मेसु डा. उपाध्यायले भने, ‘पछिल्लो समय आएको पीसीआर किट हाम्रो मेसिनसँग मिल्दो छैन् ।’
स्वास्थ्य मन्त्रालयले पछिल्लो समय उपलब्ध गराएको ‘सनस्योर बायोटेक’ कम्पनीको पीसीआर किट प्रयोगमा नआएको हो । डा.उपाध्यायका अनुसार उक्त किट नारायणीको ल्याबमा मात्र नभइ कोसी, चितवन, हेटौँडा, बाँके र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत प्रयोगमा आउन सकेको छैन ।
