३ स्वास्थ्यकर्मीसहित पर्सामा थप १० जनामा कोरोना

असार १, २०७७

भूषण यादव

पर्सा — नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्साका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार सोमबार एक महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ९ जना विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र एकजना पटेर्वा सुगौली गाउँपालिकाको रहेको डा.उपाध्यायले बताए । विन्दवासनी गाउँपालिकाको स्वास्थ्य प्रमुख चौहानका अनुसार ९ जना संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी हुन् ।

भारतबाट फर्किएकाहरुलाई राख्न गाउँपालिकाले झौवागुठीमा निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगी संक्रमित भएको उनले जनाए । गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।

संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख चौहानले बताए । यसअघि त्यस क्वारेन्टाइनमा राखिएका दुई जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

कोरोना भाइरस

भूषण

Link copied successfully