वीरगन्ज — मंगलबार एकै दिन पर्सामा ५७ जनालाई कोभिड १९ संक्रमण पुष्टि भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह एक बजेर १० मिनेटमा पर्सामा ३९ जना कोभिड संक्रमण पुष्टि गरेको थियो ।
मंगलबारै राति सवा दश बजे मन्त्रालयले पर्सामा थप १८ जनामा संक्रमण पुष्टि गर्यो । अपरान्ह संक्रमित पुष्टि भएका ३९ जनालाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरियो । तर, मंगलबार सवा दश बजे संक्रमण पुष्टि भएका १८ जना मध्ये १७ जना बुधबार साँझ ६ बजेसम्म घरमै छन् । नारायणी अस्पतालमा आइसोलेसन वार्ड अभावका कारण १७ जनालाई भर्ना गर्न नसकिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए ।
उनका अनुसार ५ वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गर्दौ ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको हो । यो बीचमा स्थानीय र प्रदेश सरकारले छुट्टै कोरोना अस्पताल निर्माणमा चासो नदेखाएको उनले गुनासो गरे । ‘सोमबारसम्म नारायणीको आइसोलेसनमा २९ जना कोभिडका बिरामी भर्ना छन्,’ कान्तिपुरसँग मेसु डा.उपाध्यायले भने, ‘हाम्रो क्षमता ७० बेडको मात्र हो, मंगलबार पुष्टि भएका ५७ जना र मध्ये ४० जना र एकजना बाराको संक्रमितलाई भर्ना गरेका छौँ । संक्रमण पुष्टि भएको १८ घन्टासम्म १७ जना घरमै छन् ।’
ती संक्रमित वीरगन्ज महानगरपालिका ३ छपकैयाका हुन् । अर्को व्यवस्था नहुन्जेलसम्म ती संक्रमितलाई वीरगन्जको सिदार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको अस्पतालका मेसु डा. उपाध्यायले बताए ।
वीरगन्ज महानगरपालिकाले वैशाखको पहिलो सातादेखि नै नारायणी अस्पताल बाहेक छुट्टै अस्थायी रुपमा कोभिड अस्पताल सञ्चालनका लागि पहल गरिरहेको छ । तर, विभिन्न अवरोधका कारण हालसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन् ।
गत वैशाख २ मा महानगरपालिकाले अस्थायी कोभिड सञ्चालनका लागि ५० शय्या, भेन्टिलेटर र आईसीयू समेत भएका निजी अस्पताललाई आर्थिक र प्राविधिक प्रस्ताव पेश गर्न तीन दिने सार्वजनिक सूचना नै आह्वान गरेको थियो । निर्धारित समयमा यहाँको गण्डक अस्पतालले निःशुल्क रुपमा प्रस्ताव पेश गरेको थियो । एक मात्र प्रस्ताव आएको गण्डक अस्पतालसँग महानगरपालिकाले सम्झौता गरि स्वीकृतिका वैशाख ८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको थियो ।
मन्त्रालयबाट कुनै जवाफ नआएपछि महानगरपालिकाले वैशाख १६ मा पुनः पत्र लेख्दै कोभिड १९ संक्रमण वीरगन्जमा समुदाय स्तरमै फैलिसकेकाले यसको रोकथाम, निदानका लागि नारायणी अस्पतालको आइसोलेसनले मात्र नपुग्ने भएकाले निशुल्क प्रस्ताव पेश गरेको गण्डक अस्पतालमा अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न अनुमति दिन अनुरोध गरेको थियो । त्यसबेलासम्म वीरगन्जमा ३ भारतीय सहित ५ जनामा कोभिड पोजिटिभ पुष्टि भएको थियो ।
वैशाख २७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन कुमार पोखरेलको टोली वीरगन्ज आएको बेला महानगरपालिका कार्यालयमा मेयर विजय कुमार सरावगीको संयोजकत्वमा कोभिड १९ उपचार केन्द्र सञ्चालन गर्ने सम्बन्धमा बैठक बसी ४ बुँदे निर्णय गरेको थियो । पहिलो बुँदामै कोभिड १९ को उपचार, व्यवस्थापनका लागि नारायणी अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने गरी वीरगन्ज महानगरपालिकाको संयोजनमा सञ्चालन हुने गरी गण्डक अस्पतालको पूर्वाधार प्रयोग गर्ने निर्णय भएको थियो ।
स्वास्थ्यकर्मी परिचालनका लागि २५ प्रतिशत जनशक्ति महानगरपालिका, २५ प्रतिशत जनशक्ति नेशनल मेडिकल कलेज र ५० प्रतिशत जनशक्ति नारायणी अस्पतालबाट प्रबन्ध गर्ने निर्णय भएको थियो । जनशक्तिको नेतृत्व नारायणी अस्पतालले गर्ने निर्णय समेत भएको थियो । वीरगन्ज महानगरपालिकाले कोभिड १९ संक्रमित विरामीहरुलाई आइसोलेसन गरी उपचार व्यवस्थापनको लागि २ सय बेड क्षमताको सेमी आइसोलेसन सेन्टर स्थापना गर्ने र लक्षण नदेखिएक बिरामीलाई आइसोलेसन गरी राख्ने प्रबन्ध मिलाउने निर्णय भएको थियो ।
उक्त निर्णयको ४ दिन नबित्दै सरकारले अर्को निर्णय गरेको छ । हाल नारायणी अस्पतालमा उपचाररत कोभिड १९ का संक्रमित बिरामीहरुलाई डिस्चार्ज गरेपश्चात अन्य तोकिएको अस्पतालमा कोभिड १९ संक्रमित बिरामीहरुको उपचार गराउने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य समन्वय महाशाखाका डा.रोशन पोखरेलद्धारा नारायणी अस्पताललाई पत्राचार गरिएको पत्रमा उल्लेख छ ।
मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि पठाइएको उक्त पत्रमा ‘यसरी अस्पताल तोक्दा नेपाल सरकारले तोकेको मापदण्ड पुरा भएका अस्पताल तोक्ने, यस्तो कोभिड अस्पताल तोक्दा नारायणी अस्पतालले आर्थिक दायित्व बाहेक जनशक्ति व्यवस्थापन र सेवा प्रवाहको व्यवस्था मिलाउने, नारायणी अस्पतालकै नामबाट उक्त तोकिएको अस्पताल सञ्चलनको व्यवस्था मिलाउने,’ उल्लेख छ । तोकिएको अस्पतालको लागि सम्पूर्ण आर्थिक र भोतिक दायित्व वीरगन्ज महानगरपालिकाले मिलाउने र नारायणी अस्पतालले बहिरंग सेवा लगायत अन्य नियमित सेवा क्रमशः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ ।
स्वास्थ्य महाशाखाकै प्रमुख विशेषज्ञ लगायतको टोलीले वीरगन्ज महानगरपालिका र सरोकारवाला निकायसँग गरेको निर्णय ४ दिनपछि नै फेरिएको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले विपतको बेला सरोकारवाला निकाय संवेदनशील नभइदिएको बताउँछन् । ‘केही घन्टा भित्रै हुने काम लामो समयदेखि नहुँदा वीरगन्जमा जोखिम बढेको छ,’ उनले भने, ‘वीरगन्ज बर्वाद भएपछि निर्णय गरेर फाइदा छैन् ।’
उनले वीरगन्जवासीसँग मजाक भइरहेको आरोप लगाए । ‘नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएपछि हामीले प्रदेशिक अस्पताल जनकपुरमा १७ जना संक्रमित पठाउन पहल गरेका थियौँ,’ मेयर सरावगीले भने, ‘तर, त्यहाँ पठाउन स्वीकृति नपाएपछि सिदार्थ माविको क्वारेन्टाइनलाई नै सेमी आइसोलेसनमा परिणत गरि राख्ने योजना बनाएका छौँ ।’
