राजनीतिक दलले पनि लकडाउन उल्लंघन गरी सडकमै उत्रेर प्रदर्शन गरे
राजविराज — लकडाउन घोषणा भएपछि सुरुवाती दिनमा जति पालना गरिएको थियो, पछिल्ला दिन बेवास्ता गर्न थालिएको छ। कतै अत्यावश्यक सामग्री बिक्रीमा नाममा किराना र पान पसलसम्म खुल्न थालेका छन् भने कतै राजनीतिक दलले नै उल्लंघन गरिरहेका छन्।
सुरुवाती दिनमा केही कडाइ देखिए पनि तरकारी खरिद-बिक्री बढ्न थाल्यो। राजविराजका हटियामा भिड बढेपछि सामाजिक दुरी कायम गर्न राज रंगशालामा हटिया व्यवस्थापनको निर्णय गरियो। तर त्यो निर्णय दुई दिन पनि टिक्न सकेन। कतै पनि हटिया नलगाउने अर्को निर्णय लिइयो। यद्यपि राजविराजका हटियामा अहिले तरकारीको खरिद-बिक्री भइरहेको छ। टोल-टोलमा तरकारी बेच्नेहरुको लर्को छ भने बस्तीमै पसल थाप्नेको संख्या बाक्लै देखिन्छ। तर प्रहरी मुकदर्शक बनिरहेका छन्।
ग्रामीण क्षेत्रमा त पछिल्ला दिनमा न कुनै सामाजिक दुरी छ, न सर्तकता। हटिया चलिरहेका छन्। एक ठाउँबाट अर्को ठाउँको आवागमन रोकिएको छैन।
प्रेस, स्वास्थ्यकर्मी, कर्मचारी, घुम्ती टोली, अत्यावश्यक सामग्री वितरण टोली, राहत टोली, स्थानीय तहको टोली, श्राद्धकर्म लगायतका फर्जी ब्यानर टाँसी सवारीसाधन गुडेका छन्। बिहान ११ बजेसम्म राजविराजका सडकमा मोटरसाइकल, साइकल र पैदलयात्रीको बाक्लो उपस्थिति देखिन्छ।
औषधि पसलमात्र होइन, साँझका बेला मदिरा पसल पनि खुल्न थालेका छन्। राजविराजका थोक बिक्रेताबाट दैनिक रुपमा मदिरा ग्रामीण क्षेत्रका पसलमा सप्लाई हुँदै आएको छ। हार्डवेयरका पसलसमेत यतिबेला खुल्ला देखिन थालेका छन्। पसल खोलेर महँगोमा सिमेन्ट लगायतका सामग्री बिक्री भइरहेको छ।
फलफूल बिक्री गर्ने नाममा शृंगारका सामग्री पनि बेच्न थालिएको छ। कस्मेटिक पसल खुल्न थालेका छन्। पानका पसल र किराना पसल पनि खुलेका छन्। डुंगाको प्रयोग गरी राति सप्तकोसी नदी हुँदै नेपाल-भारत आउजाउ रोकिएको छैन।
खसी काट्ने र मासु बिक्री गर्ने नाममा टोलमा भिड देखिन्छ। मर्निङ वाक र इभिनिङ वाक गर्ने भन्दै बिहान बेलुका सडकमा हिँड्नेहरु उति नै छन्।
स्थानीय तहबाट राहत वितरण गर्ने क्रममा सामाजिक दुरी कायम गरिएको छैन। भिड बढेपछि झडप, लाठीचार्ज र तनावको स्थिति बन्दै गएको देखिन्छ। लकडाउन पालना गराउने नाममा प्रहरीबाट अनावश्यक बल प्रयोगका घटना पनि सार्वजनिक भएका छन्।
राजनीतिक दलले पनि संस्थागत रुपमै लकडाउनको उल्लंघन गर्न थालेका छन्। राजपा र समाजवादी पार्टीबीच एकीकरणको सहमति भएको खुसीयाली भन्दै बिहीबार राजविराजसहित जिल्लाका विभिन्न स्थानमा सामाजिक दुरीको ख्यालै नगरी दीपावली गरियो। सो क्रममा नेता कार्यकर्ता ठूलो संख्यामा उपस्थित भएका थिए। तर त्यसको व्यवस्थापनमा सुरक्षाकर्मी कमजोर देखियो।
सरकारले ल्याएको अध्यादेश फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले पनि शुक्रबार राजविराजमा कालो झन्डा प्रदर्शनसहित जुलुस आयोजना गरेको थियो।
लकडाउनको समय बढ्दै जाँदा सप्तरीमा यसको पालना भएको देखिँदैन। सुरक्षाकर्मीले पनि कडाइ नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ।
