प्रदेशका कारण जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री आचार्य

पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले सुधार गरेर गाउँको रूप फेरेको उनले जनाए ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

People have experienced development due to the province: Chief Minister Acharya

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताले प्रदेश सरकारको कामका कारण विकासको अनुभूति गरेको बताएका छन् ।

मंगलबार रमजधानीमा आयोजित कान्तिपुर कन्क्लेभको संघीयता : संरचना मात्र कि संवाहक पनि विषयक सत्रमा बोल्दै उनले प्रदेश सरकारसँग जनता खुसी रहेको दाबी गरे । ‘जबरजस्ती प्रदेश आवश्यक छैन, बोझ भयो, खर्चिलो भयो भन्ने जस्ता भाष्य सिर्जना गर्न खोजिएको छ,’ उनले भने, ‘प्रदेशको कारण जनताले विकासको अनुभूति गरेका छन् । प्रदेश सरकारसँग जनता खुसी छन् ।’

पूर्वाधार निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले सुधार गरेर गाउँको रूप फेरेको उनले जनाए । ‘१ सय रुपैयाँमा ५ रुपैयाँ खर्च गर्ने बोझिलो हुन्छ कि ५० रुपैयाँ वा ४५ प्रतिशत खर्च गर्ने बोझिलो हुन्छ, समीक्षा गर्नुपर्छ,’ मुख्यमन्त्री आचार्यले भने । संघले ५०, स्थानीय तहले ४५ रुपैयाँ खर्च गर्दा प्रदेशले ५ रुपैयाँ मात्र खर्च गर्ने गरेको उनले जनाए ।

लुम्बिनी प्रदेश सरकार कानुनहरू बनाउने काममा लागेको उनले बताए । ‘कानुन बनाउँदै छौँ, तर संघीय कानुन नबन्दा बाधा पुगेको छ । वन ऐन संघीय सरकारले संशोधन नगर्दा काम गर्न सकेको छैन । निजामती कर्मचारी ऐन नहुँदा काम गर्न सकिएको छैन,’ उनले थपे, ‘प्रदेशको सचिव प्रदेशले बनाउन पाउनुपर्छ । संघले पठाएका सचिवहरू २/४ महिनामा फेरिँदा काम गर्न अप्ठ्यारो परेको छ ।’

कान्तिपुर

Link copied successfully