जेन-जी आन्दोलन हुनुभन्दा एक महिना अगाडि मात्रै मुख्यमन्त्री भएका बानियाँले जेनजी आन्दोलनलाई अकल्पनीय र अप्राकृतिक प्रकोपजस्तो भएको बताए ।
काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार बन्ने र भत्किने अस्थिरताको मूल जड नै समावेशी र समानुपातिक निर्वाचन प्रणाली भएको बताएका छन् ।
‘नेपालको राजनीति परिवर्तन धेरै भयो । विद्रोह गरेर ल्याएको समावेशी र समानुपातिक निर्वाचन प्रणाली नै अहिलेको अस्थिरताको मूल जड हो,’ मंगलबार राजधानीमा आयोजित कान्तिपुर कन्क्लेभको संघीयता : संरचना मात्र कि संवाहक पनि ? सत्रमा उनले भने, ‘यो प्रणालीले कसैको बहुमत आउन दिँदैन । दुईभन्दा बढी दलको सहभागितामा नै संघ र प्रदेशमा सरकार बनिरहेको अवस्था छ । यसमा कसले कसरी सरकारमा गयो भन्ने कुरा खासै तात्त्विक कुरा राख्दैन ।’
जेन-जी आन्दोलन हुनुभन्दा एक महिना अगाडि मात्रै मुख्यमन्त्री भएका बानियाँले जेनजी आन्दोलनलाई अकल्पनीय र अप्राकृतिक प्रकोपजस्तो भएको बताए । ‘जेन-जीको माग र प्रदर्शन एकातिर थियो, घटना अर्कोतिर भयो । अब हामीले निर्वाचन प्रणालीमै सुधार गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचनबाट आउनेले प्रणालीलाई सुधार गर्ने हाम्रो कर्म, धर्म र जनताप्रति उत्तरदायित्व यही हुनेछ ।’
