बमले नयाँ र पुरानो भन्ने विषयमा गलत भाष्य बनेको पनि बताइन् । उनले दलभित्र सुधार हुनुपर्ने र पुस्तान्तरणभन्दा पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखिन् ।
What you should know
काठमाडौँ — जेन–जी अभियन्ता रक्षा बमले आफूहरूले सबै नयाँ चाहेको भन्दा पनि गलत शैली र गलत प्रवृत्तिको विरोध गरेको बताएकी छन् ।
उनले भनिन्, ‘एउटा केपी ओली फालेर अर्को केपी ओली ल्याउनुछैन ।’ कान्तिपुर कन्क्लेभको ‘गणतन्त्रका नयाँ आवाज’ सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले परिवर्तनको अर्थ शैली पनि भएको उल्लेख गरिन् ।
उनले जेन–जीहरूमा पनि राजनीतिक चेतना रहेको बताउँदै भनिन्, ‘जेन–जीहरू सुशासनका लागि र आफ्नो भविष्य आफ्नै देशमा देख्न सकौँ भनेर जुन मुद्दा बोकेर सडकमा गएका थिए, सानो राजनीतिक चेतनाले कोही त्यहाँ पुग्दैन । जेन–जी पुस्ता हो, तर सबैमा राजनीतिज्ञजस्तो राजनीतिक चेतना आवश्यक छैन—नागरिक तहको राजनीतिक चेतना पर्याप्त छ ।’
बमले नयाँ र पुरानो भन्ने विषयमा गलत भाष्य बनेको पनि बताइन् । उनले दलभित्र सुधार हुनुपर्ने र पुस्तान्तरणभन्दा पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘नेतृत्व हस्तान्तरण भनेको जेन–जी आउनुपर्छ भन्ने होइन । जुन मानसिकता र प्रवृत्तिका विरुद्धमा हामी बोलेका छौं, त्यसलाई हटाउने हो ।’
उनले जनताका नेता हुन्छन्, जनताका मालिक हुँदैनन् भन्दै भनिन्, ‘जनताको मालिक सम्झेर उम्मेदवारहरू जनतामाझ जानु हुँदैन ।’
बमले आफू सदनभन्दा पनि सडकमै रमाउने र सडकबाटै लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन उद्यत रहने बताइन् । ‘म अझै धेरै सिक्न चाहन्छु । राजनीति व्यक्तिगत विषय हो । विभिन्न दलले राखेका प्रस्तावप्रति कृतज्ञ छु, तर चुनाव नलड्ने मेरो सोच थियो,’ उनले भनिन्, ‘सडक मेरो नजिक छ । सडकले प्रश्न सधैं जीवित राख्छ । सडकमै रहेर प्रश्न गर्दा र पारदर्शिताको माग गर्दा लोकतन्त्र अझै बलियो हुन्छ ।’
