भोटेकोशी बाढी : बेपत्ताका आफन्त चिन्तित

असार २५, २०८२

रामप्रसाद चौहान 

Bhotekoshi flood: Relatives of the missing are worried

बर्दिया — भोटेकोशीको बाढीमा बारबर्दिया नगरपालिकाका चार जना बेपत्ता भएपछि बेपत्ताका आफन्त चिन्तित बनेका छन् ।

रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीले बारबर्दिया नगरपालिका–१० को तीन, वडा नं. ९ एक र बढैयाताल गाउँपालिकाका एक जना गरी बर्दियाका पाँच जना बेपत्ता भएका भएका छन् । सो खबरले पालिकामा सन्नाटा छाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार बारबर्दिया नगरपालिका–९ खैरेनीका ३० वर्षीय सुरेश थारु, सोही पालिका वडा नं. १० फेनापतीका ३२ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम दहित, गुमस्ताका ३६ वर्षीय जिप्पन चौधरी र बढैयाताल गाउँपालिका–६ का २९ वर्षीय लक्ष्मी नारायण चौधरी रहेका छन् । 

एउटै वडाका बेपत्ता तीन जना नातेदार हुन् । जिप्पनका जेठान हुन् सन्तोष र साला हुन् बुद्धिराम । सन्तोष र बुद्धिराम दाजुभाइका छोरा हुन् । 

एउटै पालिकाको चार जना रसुवाको बाढीपछि सम्पर्कविहीन भएको खबर आउँदा आफन्त विक्षिप्त बनेका छन् ।रोइकराइ बेपत्ताका आफन्त छिनछिनमा मुर्छा परिरहेका छन् । छिमेकीले पानी छर्केर होसमा ल्याइ उताबाट केही अपडेट आउने आश्वासन दिइ सम्हाल्ने प्रयास गरिरहेका छन् । 

जेठानको माइलो छोरा भतिज जिप्पन बेपत्ता भएको खबर पाउँदा साह्रै दु:खी भएको बारबर्दिया नगरपालिका–१० का वडा सदस्य प्रेमप्रसाद चौधरीले बताए । ‘खबर आउने बित्तिकै बुहारी अनिता विक्षिप्त भएकी छन्,’ उनले भने, ‘भतिज विगत ४, ५ वर्षदेखि नै हाईड्रोपावरमा काम गर्थ्यो, बीचबीचमा छुट्टी लिएर घर आउँथ्यो, घर बनाएर गत जेठमा पुनः काममा फर्किएको थियो ।’

अति विपन्न परिवार भएकोले मेहनत मजदुरी गरेर गुजारा चलाइरहेका थिए । बेपत्ता जिप्पनका ११ वर्षीया छोरी कक्षा ६ मा अध्ययनरत छिन् । तीन दाजुभाइमध्ये जिप्पन माइला छोरा हुन् । दाजुभाइ घर अलग अलग बस्थे । 

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले यस घटनाले नगरभर नै चिन्ता बढाएको बताए । ‘बेपत्ता परिवारका आफन्तहरु बेहाल बनेका छन्, आफन्तलाई सम्झाउन वडा अध्यक्षलाई लगाएको छु,’ नगर प्रमुख थारुले भने, ‘बेपत्ताहरुको अवस्थाको बारेमा सीडिओ सा'पमार्फत निरन्तर जानकारी लिइरहेको छु ।’

कमाउन गएको कान्छो छोरा बेपत्ता भएको खबर पाउँदा होस् नै गुमेको बढैयाताल गाउँपालिका–६ का महादेव चौधरीले बताए । खबरले हिजोदेखि परिवारमा सन्नाटा छाएको उनले बताए । विगत ५ वर्षदेखि उक्त हाईड्रोपावर कम्पनीमा छोराले ज्याला मजदुरी गर्थे । ‘छुट्टिमा आएको छोरा गत जेठमा काममा फर्केको थियो । छोराले गत वर्ष चार कोठे घर बनाउँदा ऋण लागेको थियो । ऋण तिर्न यसपालि मात्र कमाउन जान्छु बुबा ऋण तिरेपछि घरै बस्छु छोरा भनेको थियो,' उनले भने, 'उसको ६ वर्षको एउटा मात्र छोरा छ । अझैसम्म उताबाट केही खबर नआएको ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully