कपिलवस्तु — आइतबार हुने शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्ष पदको उपनिर्वाचनका सबै तयारी पूरा भएको छ । निर्वाचनमा ३० कर्मचारी र ६ स्वयंसेवक खटाइएका छन् । दुई सय बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
मतदान सामग्री, मतपत्र र मतपेटिका मतदान केन्द्र पुगिसकेका छन् । कर्मचारीले शनिबार मतदानस्थल निर्माण गरेर सबै तयारी पूरा गरेको सहायक मतदान अधिकृत अम्मर ओलीले बताए । आधारभूत विद्यालय अन्राठमा क र ख गरी दुई केन्द्र छन् ।
यस्तै पूर्ण केशर मावि बगदी र बिकुली पश्चिम डिहको मदर्सामा पनि क र ख केन्द्र छन् । निर्वाचनमा वडाध्यक्षका लागि १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन् । कुल ४ हजार ८६८ मतदाता रहेका छन् । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनमा ढुक्कसँग मतदान गर्न सुरक्षाको व्यवस्था कडा पारिएको प्रजिअ विश्वप्रकाश अर्यालले बताए । शुद्धोधन-१ निर्वाचन हुने स्थल वरिपरि र ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमतिबाहेकका सवारी साधन आवतजावत गर्न रोक लगाइएको छ । यहाँ ३ मतदान केन्द्र र ६ मतदानस्थल रहेका छन् ।
