लुम्बिनी प्रदेशका ८ जिल्लाका १७ स्थानमा औसत भन्दा बढी वर्षा

कालीगण्डकी, तिनाउ, बाणगंगा, राप्ती लगायतका नदीमा बाढीका बहाब खतराको तहमा पुग्दै 

आश्विन १२, २०८१

घनश्याम गौतम

Above average rainfall at 17 places in 8 districts of Lumbini Pradesh

बुटवल — पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशको पाल्पामा सबै भन्दा बढी वर्षा भएको छ । मौसम विभागको पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेस्थित जल मापन केन्द्रको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा ३४९ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार १ सय ८ स्थानमा औसत भन्दा बढी वर्षा भएको छ । विभागले २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा बढी वर्षा भएका स्थानहरूलाई खतराको सुचीमा राख्दै सतर्क रहन आग्रह गर्ने गरेको छ ।

बढी वर्षा भएका क्षेत्रका खोला र नदीहरूमा बाढीको बहाब बढेको छ । लुम्बिनी प्रदेशका पाल्पासहित १७ स्थानमा पछिल्लो २४ घण्टाको वर्षाले औसत तह पार गरेको हो । विभागका अनुसार पाल्पाका अर्चले, जल्पा, कुमालगाउँ, बल्ढेङगढीमा राखिएका मापन केन्द्रमा औसत तह पार गरेको छ ।

पाल्पाको जल्पामा २ सय ७४ दशमलव ६, गाडाकोटमा २ सय ६७ दशमलव ६ र कुमालगाउँमा २ सय २ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । पाल्पाका विभिन्न स्थानमा भएको भारी वर्षाले तिनाउ नदीको बाढीले खतराको तह पनि पार गरेको छ । तिनाउमा ठूलो बाढी आएपछि बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै तिनाउ नदीको तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई सकर्तता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै रूपन्देहीको तिलोत्तमा, लुम्बिनी र भैरहवा क्षेत्रमा पनि औसत भन्दा बढी वर्षा भएको छ । तिलोत्तमामा रहेको जलमापन केन्द्रको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा २४६.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै लुम्बिनीमा २४३ मिलिमिटर वर्षा मापन भएको छ । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, दाङ, पश्चिम नवलपरासीमा पनि औसत भन्दा बढी वर्षा भएको छ ।

ती जिल्लाहरूमा भएको वर्षाले लुम्बिनी प्रदेशमा पर्ने तिनाउ, बडिघाट, कालीगण्डकी, राप्ती र भेरी नदीहरूमा बाढी आएको छ । अधिकांश स्थानमा बाढी खतराको तहमा पुगेको छ । लुम्बिनी प्रदेशको बर्दियामा सबै भन्दा कम वर्षा भएको देखिएको छ । त्यस्तै बाँके, रोल्पा र पूर्वी रुकुममा पनि पछिल्लो २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा कम वर्षा भएको जल मापन केन्द्रहरूको रेकर्डले देखाएको छ ।

लगातारको वर्षाले सिद्धार्थ राजमार्गसहित पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लाका राजमार्ग र ग्रामीण क्षेत्रका सडक बन्द भएका छन् । पाल्पा, गुल्मी हुँदै बाग्लुङ जोड्ने रिडी, रुद्रवेणी वामीटक्सार बुर्तिबाङ सडक दर्जनौं स्थानमा पहिरो गएपछि अवरुद्ध भएको छ ।

बाढीपहिरो

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully