दाङ — राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा ३०३ मत खसेको छ । कुल ३०५ मतदातामध्ये दुई जना उपाध्यक्ष भने उपस्थित भएनन् । प्रदेसभा सदस्यतर्फ ८७ मतदाता रहेकोमा ५४ पुरूष र ३३ महिला गरी ८७ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तहतर्फ २ सय १८ मतदातामध्ये १२७ पुरूष र ८९ महिला गरी २१६ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय भने मतदानमा अनुपस्थित रहे । अहिले मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकृत पाण्डेलले बताए ।
घोराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा-छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो।
लुम्बिनीबाट दुई सिटका लागि निर्वाचन भइरहेको हो । अन्य समूहतर्फ एक सिटका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ६१ वर्षीय झक्कुप्रसाद सुवेदी (रोल्पा), नेकपा एमालेका ६९ वर्षीय झपेन्द्रबहादुर घर्ती क्षेत्री(पाल्पा) र जनमत पार्टीका ३६ वर्षीय बालगोविन्द चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।
महिला समुहतर्फ नेकपा एमालेकी ५१ वर्षीया तुलसाकुमारी केसी (दाङ), गठबन्धनबाट नेपाली कांग्रेसकी ५७ वर्षीया विष्णुकुमारी सापकोटा (गुल्मी) र राप्रपाकी ५८ वर्षीया विजयालक्ष्मी सिंह (कपिलवस्तु) बीच प्रतिस्पर्धा हुँदैछ ।
