जाजरकोट भूकम्पमा परी रोल्पाका युवाको मृत्यु भएको पुष्टि 

कार्तिक १९, २०८०

काशीराम डाँगी

रोल्पा — जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा रोल्पाका एक युवाको मृत्यु भएको पुष्टि भएको छ ।

मामाघर रुकुम पूर्वको भुमेमा बस्दै आएका रोल्पा नगरपालिका-२ लिवाङका २८ वर्षीय किस्मत पुनको भूकम्पको बेलामा जाजरकोटमा मृत्यु भएको रोल्पा प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मावली घर रुकुम पूर्वको भुमे गाउँपालिकामा बस्ने किस्मतको रोजगारीको सिलसिलामा जाजरकोट पुगेका बेला भूकम्पमा परी मृत्यु भएको पुष्टि भएको बताए । ती युवक सानीभेरी-जाजरकोट करिडोरमा संचालित योजनामा कार्यरत थिए। गाडी चलाउने समेत सीप भएका उनी त्यहाँ दैनिक मजदुरका रूपमा काम गर्थे । 

हालको परिवर्तन गाउँपालिका-२ राङ्सी गाउँ रोल्पाबाट सदरमुकामस्थित रोल्पा नगरपालिका-२ काभ्रेखर्क सुर्खेतीडाँडामा बसाई सरेका बुबा कर्मसिंबाट करिब ३ वर्षअघि नागरिकता प्राप्त गरेका उनी भारतमा जन्मेका थिए । उनी आमासँग भारतमा हुर्केपछि नागरिकता पाउनमात्रै वर्षौंपछि रोल्पा आइपुगेका थिए । त्यसयता उनी आमासँग मामाघरमा बस्दै आएका थिए । मृतक युवाका आमा, श्रीमती र दुई छोरा रुकुम पूर्वमा बसोबास गर्छन् । 

जाजरकोट भुकम्प

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully