जाजरकोट — यही शुक्रबार रातिको भूकम्पमा परी थाप्लेका धेरैजसो माटोले बनेका घरहरु भग्नावशेषमा परिणत भएका छन् । अहिले मालपोत कार्यालय पुरानो दरबार, नापीलगायतका सरकारी कार्यालयहरु पनि क्षतिग्रस्त भएका छन् ।
भूकम्प गएको तेस्रो दिनसम्म विपद् व्यवस्थापन टोली आइनपुगेपछि खलंगाको माथिल्लो थाप्लेका प्रभावित आफैंले क्षति पुगेका घरसंरचना पन्छाउन थालेका छन् । गत शुक्रबार रातिको भूकम्पले माटो, ढुंगाले बनेका पुराना घरहरु बस्नै नमिल्ने गरी क्षति पुगेको थियो ।
प्रभावितहरुले जिउमा लगाएका लुगाबाहेक लत्ताकपडा, खाद्यान्न सबै भत्किएका घरसँगै पुरिएका छन् । भूकम्पले गर्दा यहाँका घर, सरकारी तथा गैरसरकारी निकायका संरचनाहरुमा क्षति पुगेको मालपोत कार्यालय प्रमुख डिल्लीबहादुर केसीले बताए । मालपोत कार्यालय बसेको घरसमेत क्षतविक्षत भएको छ ।