दाङ,लुम्बिनी — श्रीमान्को मृत्युपछि धेरै महिलाले समाजको नियम मानेर सेता वस्त्र धारण गरे, चुरा फोडे, निधारमा टीका लगाउन छोडे । हुमा डीसीले भने समाजको यो चलनमाथि धावा बोलिन् । आफूजस्तै विधवालाई संगठित गर्दै दाङमा सेतो वस्त्रविरुद्ध आन्दोलन छेडिन् । बिस्तारै आन्दोलनले सार्थकता पाउन थाल्यो । विधवाहरू पनि मन लागेको कपडा लगाउन थाले । समाजले पनि आन्दोलनलाई स्विकार्न थाल्यो ।
०५९ सालमा थालेको सेतो वस्त्रविरुद्धको आन्दोलनकी अगुवा घोराही उपमहानगरपालिका–१७ ओखराकी डीसीले त्यसपछि घरेलु हिंसापीडित महिलाको संरक्षणका लागि सेफ हाउस सञ्चालन गरिन् । विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन, वडा नागरिक मञ्च, पारालिगल समिति, खाद्य अधिकार लगायतका विभिन्न क्षेत्रको नेतृत्व गरिन् । उनी अहिले राजनीतिक मैदानमा उत्रिएकी छन् । उनी एमालेका तर्फबाट घोराही उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवार छिन् । उनको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगी छन् । डाँगीले ०७४ मा घोराहीको प्रमुखमा प्रतिस्पर्धा गरेका थिए । डाँगी त्यतिबेला एमालेका नरुलाल चौधरीसँग पराजित भएका थिए । अहिले घोराहीको प्रमुखमा माओवादी केन्द्रका हेमराज शर्माले एमालेका चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
डीसीलाई गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन । घोराही कांग्रेसको राम्रै मत भएको क्षेत्र हो । त्यसमा माओवादी र जनमोर्चाको मत थपिंदा डाँगीलाई जित्न सहज हुने गठबन्धनको आकलन छ । हुमा भने आफू महिलाको प्रतिनिधिका रूपमा निर्वाचनमा होमिएकाले जित्न सहज भएको बताउँछिन् । गठबन्धनले प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार उठाएकाले महिलाको सहानुभूति र सहयोग आफूलाई प्राप्त हुने उनको भनाइ छ ।
डीसीले ०४९ मा अखिल नेपाल महिला संघको सदस्य भएर राजनीतिक यात्रा थालेकी थिइन् । उनी अहिले संघको जिल्ला अध्यक्ष तथा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । उनी ०५४ मा एमालेबाट वडा सदस्यमा निर्वाचित भएर काम गरिन् । पिठ्यूमा बालबच्चा बोकेर उनले विभिन्न आन्दोलनको नेतृत्व गरिन् । त्यो आन्दोलनको उपलब्धिस्वरूप अहिले नीति निर्माण तहमा पुग्न सहज हुने उनले बताइन् ।
कठिन समयमा सामाजिक आन्दोलनमा लागेका कारण अहिले जनताले आफूलाई साथ दिने उनको दाबी छ । ‘समाजलाई कुरा बुझाउन निकै कठिन थियो । हामीले समाजका गलत परम्परालाई चुनौती दिएका थियौं,’ उनले भनिन्, ‘विधवा महिला घरबाट बाहिर निस्कने अवस्था थिएन । आज हरेक महिला आफ्नो भविष्य निर्माणको बाटोमा निर्धक्क हिंड्न सक्ने भएका छन् । अब म जनप्रतिनिधि भएर समाज बदल्न चाहन्छु ।’
सुत्केरी भए पनि चुनावी मैदानमा
खिरिलो ज्यान, दिनभरको चर्को घामले असिनपसिन । काखमा दुधे बालक च्यापेरै दैनिक घरदैलो गरिरहेकी छन् । उनी हुन्, नेपाल जनता पार्टीबाट कोटहीमाई गाउँपालिका उपाध्यक्षको उम्मेदवार सविता गुप्ता ।
रूपन्देहीको कोटहीमाई–६ की गुप्तालाई अहिले चुनावी प्रचारप्रसारले भ्याइनभ्याइ छ । दुई महिनाअघि सुत्केरी भए पनि उनी भोट माग्न व्यस्त छिन् । ‘ससुराबुबा समाजसेवी हुनुहुन्छ,’ उनले भनिन्, म बीएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी पनि हुँ, ममा बुबाले नै क्षमता र समाज बदल्ने साहस देखेर राजनीतिमा लगाउनुभयो ।’ आफ्ना ससुराबुबा आबद्ध रहेको दलले उनलाई उम्मेदवार बनाएन । त्यसपछि नयाँ पार्टीसँगको समीकरणमा उम्मेदवार बनेको उनले बताइन् । समीकरणका लागि ससुराले बुहारीलाई उम्मेदवार बनाउनुपर्ने सर्त राखेका थिए । ‘त्यही अवसरले म चुनावमा होमिएँ,’ उनले भनिन्, ‘घरदैलोमा पाएको माया र आशीर्वादले चुनाव जित्छुजस्तो लागेको छ ।’
गाउँपालिका उपाध्यक्षमा अहिले पाँच जना उम्मेदवार छन् । ‘जित हात पार्नु चुनौतीपूर्ण काम हो,’ उनले भनिन्, ‘युवा, अध्ययन र क्षमता भएकाले जित्ने सम्भावना बोकेकी छु ।’ घरदैलोमा हिँडुन्जेल जेठानी दिदी र श्रीमान् पनि सँगसँगै हिँड्ने गरेको उनले बताइन् । मझगावास्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छिन् । ‘घरमा सघाउने जेठानी दिदीले बाहिर अघि बढ भन्नुभयो,’ उनले भनिन्, ‘म पढेकी भएर मलाई घरबाहिरको यो संसारमा अघि बढ्न पठाइयो ।’
अशिक्षित महिलाको संख्या बढी रहेको पालिकामा शिक्षाको ज्योति छर्ने उद्देश्य रहेको गुप्ता बताउँछिन् । उनले महिलाले पढ्न नपाएकै कारण विभिन्न समस्या खेप्नुपरेको, घरदेखि बाहिर निस्केर संसार अनुभव गर्न नपाएको, दाइजो प्रथाले मृत्युवरण गरिरहेको, हरेक कुरा सहनुपर्ने जस्ता समस्या हल गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । ‘मुख्य गरी महिलामा जनचेतना जगाउने इच्छा तीव्र छ,’ उनले भनिन्, ‘मेरो जित मधेसी समुदायका हरेक ती आमाको जित हो, जसले बच्चा र परिवारको हेरचाहमा आफन सपना पछि छोडेर समर्पित हुन्छन् ।’
