झडपमा उम्मेदवार घाइते, प्रशासनद्वारा सर्वदलीय बैठक आह्वान
रोल्पा — चुनावी प्रचारमा लागेका दुई पक्षबीच रोल्पाको माडीमा झडप भएको छ । गठबन्धन गरेका कांग्रेस–एमाले र माओवादी र नेकपा समाजवादीका कार्यकर्ताबीच बुधबार राति झडप भएको हो ।
प्रहरीका अनुसार चुनावी अभियानमा लागेका दुवै पक्षका कार्यकर्ताबीच माडीको तालाबाङमा झडप हुँदा कांग्रेस र एमालेबीच भएको गठबन्धनका साझा उम्मेदवार निमबहादुर डाँगी घाइते भएका छन् । उनी कांग्रेस र एमालेबीचको गठबन्धनतर्फका माडी–३ का वडा अध्यक्षका साझा उम्मेदवार हुन् । विपक्षीले फलामको रडले प्रहार गरेपछि टाउकोमा चोट लागेका उनलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।
दिउँसो माडी ३ तालाबाङमा भएको कांग्रेस–एमाले गठबन्धनको चुनावी सभा सकिएपछि त्यसै विषयमा बेलुकी दुवै पक्षका युवाबीच विवाद भएको थियो । विवाद राति अबेरसम्म भएको स्थानीयले बताए ।
चुनावी गठबन्धनका साझा उम्मेदवार घाइते भएपछि अवस्था तनावपूर्ण भएको एमाले नेता प्रेम घर्तीले बताए । दिउँसो आयोजित चुनावी कार्यक्रमको विषयमा विवाद सिर्जना भएको र मिलाउन खोज्दा नेता समेतले चासो नदेखाएपछि आफ्नै उम्मेदवारमाथि कुटपिट भएको उनले बताए ।
एकीकृत समाजवादीका नेता हरिप्रसाद घर्तीमगरले झडपमा आफूतर्फका ५/७ जना घाइते भएको दावी गरे । ‘म पनि घाइते भएको छु,’ उनले भने । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य समेत रहेका उनी तालाबाङ निवासी हुन् । माडीमा चुनावी गठबन्धन गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी एकातिर छन् भने कांग्रेस र एमाले अर्कातिर छन् ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्वाचन आचारसंहिता उल्लंघन भएको अवस्था आएकाले झडप उत्पन्न भएको हुन सक्ने बताए । उनले दुवै पक्षका नेताको संयुक्त बैठक बोलाइएको बताए । उनका अनुसार माडीमा मध्यान्हमा र जिल्लास्थित दलहरुको सर्वदलीय बैठक दिउसो ४ बजेट लिबाङमा बोलाइएको छ । बैठकमा उक्त विषयबारे व्यापक छलफल गरेर दुवै पक्षलाई सचेत बनाइने उनले बताए । स्थानीय प्रशासनका अनुसार जिल्लाभर कुनै घटना हुन नदिन सचेतता अपनाइएपनि माडीमा झडप भएको हो । उक्त स्थान सदरमुकाम लिबाङदेखि करिब ५० किलोमिटर पश्चिममा पर्छ ।
