माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा  सुदर्शन बराल

अन्य पदाधिकारी राष्ट्रिय अधिवेशनपछि टुंगो लाग्ने

पुस १, २०७८

घनश्याम गौतम

रुपन्देही — नेतृत्व दाबी गर्नेको संख्या बढेपछि नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अधिवेशनले पदाधिकारी टुंगो लगाउन सकेको छैन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी पदका आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको छ ।

आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र  लबिङ गरेपछि पदाधिकारी चयन रोकिएको हो । अन्य पदाधिकारी टुंगो नलाग्दा अध्यक्षको नाम पनि सार्वजनिक हुन सकेको छैन ।

दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम टुंगो लगाएको छ । तर, अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको विषयमा सर्वसम्मत सहमति भए पनि लिखित निर्णय नभएको एक नेताले बताए ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीसमेत रहेका बराल माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा सर्वसम्मत अध्यक्ष बनेका हुन् । उनी प्रदेशमा पुननिकट नेता मानिन्छन् । माओवादीमा लुम्बिनी प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले दाबी गर्दै आएका थिए । उनीहरु दुवै जना २ सय १७ सदस्यीय प्रदेश समितिको सदस्यमै नपरेपछि बराल सर्वसम्मत भएको एक नेताले बताए ।

माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तीन उपाध्यक्षमा बाँकेका आईपी खरेल, रुकुमकी जुनकुमारी रोका मगर, कपिलवस्तुका रुद्र बञ्जाडेको दाबी छ । त्यस्तै सचिवमा दाङका तुलसीराम पुन, लुमाकान्त न्यौपाने, बर्दियाका दुर्गाबहादुर थारु, रोल्पाका निमकान्त डाँगी, प्यूठानका प्रकाश अधिकारीले पनि दाबी गर्दै आएका छन् । सचिवका लागि माओवादी प्रवक्ता महराले तुलसीराम पुनलाई अघि सारेका छन् ।

अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आफ्नै ज्वाइँ लुमाकान्त न्यौपानेलाई बनाउन खोजेपछि टुंगो लाग्न सकेको छैन । माओवादी नेता सुदर्शन बरालले पदाधिकारी चयनमा कुनै विवाद नरहेकाले राष्ट्रिय सम्मेलनपछि निर्णय गरिने बताए । ‘करिब करिब टुंगो लागे जस्तै छ,’ उनले भने, ‘तर, राष्ट्रिय सम्मेलनपछि प्रदेश समितिको बैठक बसेर लिखित निर्णय गर्ने भन्ने छ ।’ लुम्बिनी प्रदेश समिति बनिसकेकाले जिम्मेवारी बाँडफाँडमा कुनै समस्या नरहेको उनको दाबी छ ।

माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । सम्मेलनले २ सय १७ सदस्यीय कमिटी चयन गरेको माओवादी नेता एवं प्रदेश सदस्य बुद्धि जिसीले बताए ।

लुम्बिनी प्रदेशको सन्दर्भमा पदाधिकारी छनोटमा पनि कुनै विवाद नरहेको उनले दाबी गरे । ‘माओवादी संगठन बलियो रहेको क्षेत्रमा आकांक्षी बढी हुनु स्वभाविक नै हो,’ उनले भने, ‘तर, कुनै विवाद छैन, केन्द्रीय अधिवेशनलगत्तै सबै टुंगो लाग्छ ।’ उनले कुनै नेताले पनि व्यक्ति अघि सारेको नभई सहमतिमै नेतृत्व र पदाधिकारी चयन हुने बताए ।

माओवादीको लुम्बिनी प्रदेश कमिटी २ सय ५३ सदस्यीय हुने प्रदेश सदस्य युवराज केसीले बताए । बाँकी ११ जना विभिन्न कलस्टरबाट मनोनीत गरिनेछ । 

माओवादी महाधिवेशन

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully