माओवादी प्रदेश १ ले सकेन पदाधिकारी टुंगो लगाउन

मंसिर २९, २०७८

सुम्निमा चाम्लिङ

इटहरी — नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी टुंगो लगाउन बसेको प्रथम भेला निष्कर्षविहीन भएको छ । अध्यक्ष पदका प्रमुख तीन आकांक्षी इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र सुरेशकुमार राईले बुधबार दाबी छाडेका छन् ।

संघीयता कार्यान्वयनका लागि प्रदेश सदस्यबाट नेतृत्व हुनुपर्ने कुरा उठेपछि आकांक्षीहरु ‘ब्याक’ भएको प्रेस सेन्टरका केन्द्रीय सदस्य राजन केडीले बताए । उनले भने, ‘केन्द्रीय कमिटीबाट प्रत्यक्ष नेतृत्व हुनु हुँदैन, वैचारिक, रणनीतिक मात्र हुनुपर्छ भन्नेमा तीन उम्मेदवार सकारात्मक देखिए ।’

तीन केन्द्रीय सदस्यले अध्यक्षको आकांक्षा छाड्ने भए पछी हर्कबहादुर नेम्बाङ मिक्सो, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङबो, विजय साङपाङले अध्यक्षमा दाबी गरेका छन् । नेम्बाङ अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव हुन् । डाँगी माओवादी केन्द्र सुनसरीका पूर्वइन्चार्ज हुन् ।

अध्यक्षको बलियो दाबेदारको रूपमा रहेको हुँदा नेम्बाङ नेतृत्वमा आउने सम्भावना बढेर गएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह–इन्र्चाज अजम्बर काङबाङको संयोजकत्वमा पदाधिकारी छनोट सुझाव कार्यदल गठन भएको माओवादी केन्द्र धरानका इन्चार्ज अइन्द्रविक्रम बेघाले बताए । कार्यदलमा सुरेशकुमार राई, इन्द्रबहादुर आङबो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् । कार्यदलले प्रदेशको पदाधिकारीको नाम बारेमा छलफल र सुझाव संकलन गरी आउँदो पुस ७ को बैठकमा प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि बैठकमा छलफल हुने र पदाधिकारी चयन गर्ने माओवादी केन्द्र तयारीमा जुटेको छ । बैठकमा राष्ट्रिय सम्मेलनमा सहभागिता, कमिटीको पूर्णता र पदाधिकार चयनलगायत एजेन्डामा छलफल चलेको थियो ।

माओवादी महाधिवेशन

सुम्निमा

Link copied successfully