अर्घाखाँची — कांग्रेसको १४ औं महाधिवेशनमा अर्घाखाँचीबाट ५ जनाले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र खुलातर्फको महिलाबाट केन्द्रीय सदस्यमा पुष्पा भुसालले उम्मेदवारी दिएका छन् ।
उनीहरु १३ औं महाधिवेशनबाट केन्दीय सदस्य निर्वाचित भएका थिए । विश्वकर्मा र भुसाल शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । भुसाल संघीय कांग्रेस संसदीय दलकी सचेतक र विश्वकर्मा सांसद हुन् ।
त्यस्तै, सदस्यमा नेपाल चिकित्सक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जनजाती कोटबाट, पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसालले खस आर्यबाट र लुम्बिनी प्रदेशको कोटाबाट छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले उम्मेदवारी दर्ता गराइ प्रचारमा जुटेका छन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका सन्धिखर्क नगरपालिका प्रमुख एवं कांग्रेस पूर्वजिल्ला सभापति कमलप्रसाद भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठ, पोखरेल, रेवती र कमल सभापतिका उम्मेदवार शेखर कोइराला प्यानल नजिक छन् ।
