नेपालगन्ज — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । भेरी प्राविधिक शिक्षालयमा सम्पन्न गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले २३९ र वीरेन्द्र शाहले १९१ मत प्राप्त गरे ।
यस्तै, सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष बर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन् । यस्तै, तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले बताए । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।
उक्त क्षेत्रमा रहेका कूल ४ सय ५१ जना मतदातामध्ये ४ सय ४० मत खसेको थियो । गुप्ता र शाह दुवै संस्थापन पक्षका हुन् । तर, शाहलाई संस्थापन इतर (कोइराला/पौडेल) पक्षको समर्थन रहेको थियो । गुप्तालाई भने संस्थापन पक्षले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेको थियो ।
नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा ४७ मतान्तरले पोषण केसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ मा संस्थापन पक्षका नक्की खाँ निर्विरोध विजयी भइसकेका छन् । खाँसहित समानुपातिकतर्फबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश ३ (ख) कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।
