रोल्पा — नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत रोल्पाका १० स्थानीय तहमा शनिबार सम्पन्न निर्वाचनबाट युवा नेतृत्व चुनिएको छ । एक नगरपालिकासहित ९ गाउँपालिकाको पार्टी नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको कांग्रेसले जनाएको छ ।
पार्टीका जिल्ला सभापति अमरसिंह पुनमगरका अनुसार कार्यकर्ता, प्रतिनिधि र नेतृत्वको प्रयासबाट सबै स्थानीय तहमा युवा नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । ‘अहिलेको निर्वाचनबाट सबै तहमा युवाको वर्चश्व चयन गरिएको छ । यसबाट पार्टीलाई नयाँ दिशातिर लैजाने निश्चित भएको छ,’ सभापति पुनले भने ।
दसैंपछि क्षेत्रीय समिति र जिल्ला समिति चयन गर्दा पनि युवाकै नेतृत्व हुने उनले दाबी गरे । विगतमा नेतृत्व चयन गर्दा भनसुन र व्यापक रुपमा छलफल गर्न हिच्किचाउने गरेकामा अहिले त्यस्तो नगरिएको उनले बताए ।
कांग्रेसका अनुसार निर्वाचित नेतृत्वमध्ये अधिकांश युवा छन् । शनिबार सम्पन्न निर्वाचनबाट रोल्पा नगरपालिकाका सभापतिमा स्थानीय चन्दप्रकाश आचार्य चयन भएका छन् । यस्तै, गाउँपालिकाहरु सुनछहरीमा कोमबहादुर बुढागमर, सुनिलस्मृतिमा मनबहादुर गिरी (आशिष), गंगादेवमा मीनबहादुर खड्का, माडीमा नवराज डाँगी चयन भएका हुन् । यसैगरी परिवर्तनमा खडकबहादुर घर्तीमगर, थबाङमा खरिलाल डाँगी, त्रिवेणीमा दुर्योधन राना, रुन्टीगढीमा जनक पुन र लुङ्ग्रीमा जनक खड्का सभापतिमा चयन भएका हुन् ।
निर्वाचित सभापतिमध्ये गंगादेवका मीनबहादुर खड्का र लुंग्रीका जनक खड्का ५० वर्ष माथिका छन् । अन्यको उमेर ५० वर्षमुनि भएको पार्टीका जिल्ला उपसभापति किशोर आचार्यले बताए ।
जिल्लामा कांग्रेसका क्रियाशील सदस्य करिब ४ हजार ५ सय छन् । सभापति पुनका अनुसार पार्टी गतिविधिलाई अझै सशक्त बनाउन सहमति मार्फत् तह नेतृत्व चयन गरिएको हो ।
जिल्ला सभापतिका लागि भने पार्टी सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आ–आफ्नै वर्चश्व रहेको दाबी गरेका छन् । पौडेल पक्षीय सभापति पुनले पार्टीका लागि असल एवं सक्रिय नेतृत्व चयन गर्ने सन्दर्भमा यसपटक राम्रो परिपाटी अपनाइएको बताए ।
