पाल्पा — लुम्बिनी प्रदेशका ३८ स्थानीय तहका कोभिड कोषमा हेफर इन्टरनेसनल नेपालले ५ करोड ३ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले खर्च गर्न सक्ने गरी शुक्रबार उक्त रकम जम्मा गरिएको हो ।
पाल्पाका स्थानीय तहले प्रदेशमै सबैभन्दा धेरै १ करोड ४९ लाख रुपैयाँ पाएका छन् । गुल्मीले ८० लाख, रूपन्देहीले ६६ लाख, बाँकेले ८५ लाख, दाङले ३६ लाख रुपैयाँ पाएका छन् । अर्घाखाँचीले २५ लाख, प्यूठानले १७ लाख ५० हजार, बर्दियाले ३५ लाख, कपिलवस्तुले ९ लाख ५० हजार रुपैयाँ पाए ।
सामाजिक स्रोत विकास केन्द्र नेपालको समन्वयमा कोभिड संक्रमितको उपचार र रोकथामका लागि पाल्पामा सहयोग गरेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए । अन्यत्रका जिल्लामा सहयोगी गैरसरकारी संस्थामार्फत नै रकम जिल्लामा पुग्नेछ । ती संस्थाले सम्बन्धित स्थानीय तहको कोभिड कोषमा रकम जम्मा गर्नेछन् ।
‘हेफरको कार्यक्षेत्रका स्थानीय तहका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर रकम जम्मा गरेको हो,’ कार्यक्रम प्रबन्धक सिलवालले भने, ‘रकमबाट स्थानीय तहले अक्सिजन सिलिन्डर, अक्सिजन रिफिल, भेन्टिलेटर, पीपीई सेट, अक्सिमिटरलगायतमा खर्च गर्न सक्नेछन् ।’
