लुम्बिनी प्रदेशको बजेट अधिवेशन : सरकारविरुद्ध खनिए विपक्षी

जेष्ठ १९, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमै आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएका छन् ।

प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न दबाब दिए । बहुमतका लागि ४१ जना सांसदसहति दाबी गर्नु पर्नेमा पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दाबी गरेकाले सरकारले वैधानिकता गुमाएको उनीहरुको दाबी थियो । 

कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खानले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएपनि अहिले उपधारा २ बमोजिम दुई दलको सरकार बनेकाले सोही अनुसार वर्तमान सरकारले गठन भएको एकमहिनाभित्र विश्वासको मत लिन माग गरे । ‘कि सरकारले विश्वासको मत लिनुपर्यो कि छोड्नुपर्यो,’उनले भने । 

माओवादी केन्द्रका सदस्य सुदर्शन बरालले अवैधानिक रुपमा मुख्यमन्त्री बनेका पोखरेलले राजीनामा दिनुबाहेक अरु विकल्प नरहेको बताए । सपथ खुवाउँदा पनि प्रदेश प्रमुखलाई बोरामा राखेर आफ्नो कार्यकक्षमा ल्याएका मुख्यमन्त्रीले नीति कार्यक्रम ल्याउने र  सरकार चलाउने हैसियत नराख्ने उनको भनाइ थियो ।

प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्ता लिप्त एमालेले आफ्नो दलसमेत फुटाएर लगेको बताए । प्रदेशमा जसपाका ६ मध्ये ४ सदस्य अहिले सरकारमा सहभागी छन् । 

प्रदेशसभामा कांग्रेसका वीरबहादुर राना, माओवादी केन्द्रका इन्द्रजीत थारु, राजमोका तारा जिसी लगायतले बोल्दै सरकारको आलोचना गरेका थिए  । वैधानिकता गुमाएको सरकारले संसद् छलेर अध्यादेशबाट बजेट ल्याएमा त्यसको प्रतिकार गर्ने समेत बताएका थिए । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully