लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग गर्न विपक्षी दल सर्वोच्च अदालत जाने

जेष्ठ ५, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको मागसहित विपक्षी दल न्यायिक उपचारमा जाने भएका छन् । 

चार दलका संसदीय दलका नेता एवं दलका सचेतकहरुको बधुबार बसेको बैठकले वैशाख १९ मा पोखरेलको मुख्यमन्त्रीमा  नियुक्ति संविधानको भावना र मर्म विपरीत भएको भन्दै न्यायिक उपचारमा सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

वैशाख १९ मा प्रदेश प्रमुखले ठूलो दलका हैसियतमा मुख्यमन्त्रीमा पोखरेलेको नियुक्ति असंवैधानिक भएकाले संविधानको रक्षार्थ पनि सर्वोच्च अदालतमा जानुपरेको बैठकपछिको विज्ञप्तीमा उल्लेख छ । 

विपक्षी दलमा माओवादी केन्द्र , नेपाली कांग्रेस, जनता समाजवादी पाटी र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । एमाले ठूलो दल नरहेकाले उक्त नियुक्ति बदरको मागसहित सर्वोच्च अदालत जाने निर्णय भएको कांग्रेस संसदीय दलका सचेतक फकरुद्धिन खानले बताए । हाल एमालेमा ३८ सदस्य छन् । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully